रजनीकान्तले हारे कर सम्बन्धि मुद्धा

दक्षिण भारतका सुपरस्टार रजनीकान्तले आफ्नो सम्पत्तिमाथिको करलाई लिएर ग्रेटर चेन्नई कर्पोरेसनविरूद्ध मद्रास उच्च अदालतमा मुद्धा दायर गरेका थिए। 

यसको बहस बुधबार भएको छ। बहसका क्रममा रजनीकान्तलाई अदालतले आफ्नो समय बर्बाद नगर्न र महानगरपालिकासँग मिलेर विवाद सल्टाउन आदेश दिएको छ। 

चेन्नई महानगरपालिकाले केही महिनाअघि रजनीकान्तलाई विवाह मण्डप श्रीराघवेन्द्र कल्याण मण्डपको तिर्न बाँकी ६ लाख ५० हजार कर चुक्ता गर्न नोटिस पठाएको थियो। 

तर, रजनीले आफूमाथि कर माग गर्नु अनैतिक भएको भन्दै अदालतको ढोका खटखटाएका थिए। उनले अदालतमा दर्ता गरेको निवेदनमा कोरोना महामारी तथा लकडाउनका कारण २४ मार्चदेखि विवाह मण्डप बन्द रहेको तर्क पेस गरेका थिए। 

उनले प्रतिकूल अवस्थामा कर माग गर्नु अनुचित भएको दावी गरेका थिए। तर, अदालतले एकै पल्ट मुद्धा दायर गर्नुको सट्टा महानगरपालिकासँग पहिले कुराकानी गर्नुपर्ने सुझाव दिएको छ। यो फैसला आएपछि रजनीका वकिलले अदालतबाट मुद्धा फिर्ता गर्न आदेश मागेका छन्। 

६९ वर्षीय रजनी ९ जनवरीमा रिलिज भएको ‘दरबार’ फिल्ममा देखिएका थिए। जुन बक्स अफिसमा फ्लप सावित भएको थियो। उनको अर्को फिल्म ‘अन्नाठे’ रिलिजको तयारीमा छ। उनले यही वर्ष मार्चमा राजनीतिक पार्टी गठन गर्ने घोषणा पनि गरेका थिए।  उनले आफ्नो पार्टी देश सेवामा लाग्ने र यसका नेताले राजनीतिक नियुक्ति नखाने बताएका थिए।
 

प्रकाशित मिति: : 2020-10-15 09:26:00

प्रतिकृया दिनुहोस्