कोरोनाको राम्रो व्यवस्थापन गरेकी जेसिन्डालाई २४ वर्षपछि न्युजिल्याण्डमा बहुमत

बिएल संवाददाता

क्राइसचर्च

न्युजिल्याण्डमा २४ वर्षपछि कुनै पार्टीले बहुमत प्राप्त गरेको छ। प्रधानमन्त्री जेसिन्डा आर्डर्नको लेबर पार्टीले सबैको अनुमान अनुसार ठूलो जित निकालेको हो। 

शनिबार मतदान सम्पन्न भएको ९० मिनेटपछि नै मतगणना सुरु भएको थियो। 

चुनावको अन्तिम दिनभन्दा अगाडिदेखि नै मतदान गर्ने सुविधा भएका कारण १९ हजार मतदाताले पहिले नै भोट गरिसकेका थिए। यो न्युजिल्याण्डको कूल मतदाताको ५७ प्रतिशत मत हो। यहाँ ३० लाख ७७ हजार मतदाता थिए। 

न्युजिल्याण्ड मिडियाको रिपोर्टअनुसार लेबर पार्टीले ४८ दशमलव ९ प्रतिशत मत प्राप्त गरेको छ। यस पार्टीले ६४ सिटमा जित हात पारेको छ। १ सय २० सदस्य भएको संसदमा बहुमत सिद्ध गर्न ६१ सिट पर्याप्त मानिन्छ। 

ज्युडिथ कोलिन्सको नेशनल पार्टीले २७ प्रतिशत भोटसँग कूल ३५ सिट जितेको छ। एसीटी न्युजिल्याण्ड पार्टीले १० सिट जितेको छ। 

जितको आधिकारीक नतिजा सार्वजनिक हुन बाँकी छ। २४ वर्षपछि बहुमत प्राप्त गरेपछि आर्डर्नले भनिन्, ‘आजको नतिजाले म निकै खुसी छु। यो नतिजालाई लिएर म त्यति छक्क परेकी छैन किनभने मैले पहिले नै यस्तै परिणामको अपेक्षा गरेकी थिए।’
 
उनले आफ्नो पार्टीका कार्यकर्ताले निकै मिहिनत गरेको बताइन् र विगतको राम्रो कामलाई निरन्तरता दिने स्पष्ट पारिन्। 

‘मेरो छोरी दुई वर्षकी छे र अहिले उ सुतिरहेकी छे। त्यसैले म आफ्नो टिममा कुनै किसिमको परिवर्तन चाहन्न,’ उनले अघिल्लो मन्त्रीमण्डल पनि पुरानै हुने स्पष्ट पारिन्। 

जेसिन्डाले कोरोनामा निकै राम्रो काम गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-10-17 19:08:00

प्रतिकृया दिनुहोस्