असईको घाँटी रेटिएको अवस्थामा फेला पर्‍यो शव, जवानको खोजी जारी

कैलालीमा गस्तीमा निस्किएक एक असईको शव फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्। 

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका ११ को मोहना खोलामा भेटिएको हो।

उनको शव घाँटी रेटेर हत्या भएको अवस्थाम शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक उत्तम सुवेदीले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए।

ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो।  

खोज्दै जाँदा प्रहरीले आइतबार बिहान एउटा शव मोहना नदी किनारमा भेटाएको थियो। 

‘असईसाबको शव भएको पहिचान भएको छ। उहाँको घाँटी रेटिएको छ भने खुट्टामा पनि चोट लागेको छ। उहाँको हत्या गरी मोहना नदीमा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले भने। 

उनले चढ्ने मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन।

यता प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको उनले बताए। बेपत्ता जवानको खोजी भइरहेको छ। बेपत्ता प्रहरीको खोजीका लागि गोताखोर टोली घटनास्थल पुगेको छ। 

‘खोजीका लागिका नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थल पुगी बेपत्ता साउदको खोजी गरिरहेको छ,’ उनले भने। 

घटनास्थल नेपाल–भारत सीमामा पर्छ। नगढी उपमहानगरपालिका १२ जुगेडाको त्यस क्षेत्रमा भारतबाट विभिन्न सामान अवैध रुपमा नेपाल ल्याउने गरिएको छ। असई तस्करी नियन्त्रणमा आक्रामक रूपमा काम गर्दै आएका थिए। 

‘यो घटना भएको क्षेत्रमा तस्करको ठूलो सञ्जाल सक्रिय छन्। तस्करहरूले नै घटना घटाएको हाम्रो प्रारम्भिक बुझाइ छ,’ डिएसपी बिष्टले भने।

प्रकाशित मिति: : 2020-10-18 13:53:00

प्रतिकृया दिनुहोस्