जुम्ली ठाडीभाका शृङ्खला - भाग तीन, खण्ड (ख)

अनि गाेइली दरबारकाे प्याराे बनिन्

Breaknlinks
Breaknlinks

प्रिय पाठकहरुसँग सुरुमै माफी माग्दछु। याे कथा खण्ड (ग) सम्म जाने भएकाे छ। फेरि याे केटाेले बीचमा 'ल्याङ-ल्याङ' गर्‍याे नभन्दिनुहाेला।

केवल एक हप्ताकाे अवधिमा खण्ड (क) मा भनिएकाे खण्ड (ख) काे सिंजा साम्राज्यका महासामन्तकाे पालाकाे अन्तरजातीय प्रेम कथा सकिनेछ। अब चाँडै सुरु हुन्छ- गाेइलीकाे कथा खण्ड (ख)।

पुसे दमाईकाे मृत्युपछि धाेबीगाड किनार सधैँ झाेक्राइरहेकाे देखिन्थाे, नुन खाएकाे कुखुराजस्ताे। घाेगीसरा र पुसेका नुनिला आँसुले सिंचिएकाे माटाे त्यसपछि उर्वर भएन। मानाैं, आँसुसँगै निस्किएको नुनले माटाे सिंचियाे र त्यसकाे उर्वरा शक्ति गुम्याे।

सिंजाकाे उर्वर माटाेलाई चिरेर बगेकाे हिमा नदीकाे बहावले पनि शाेक मनायाे। मानाैं, सिंजा उपत्यकाकाे बीच्चमा फाटेपछि घाेगीसरा र पुसे दमाई धर्ती छिरे, रामायणकी सीता छिरेझैं। मानाैं युगाैंदेखि उनीहरुले हिमा नदीकाे बहाव राेकिराखेका छन्। र त आजसम्म पनि सुस्तरी बगिरहेको छ।

दिनहुँजसो काेही न काेही आइरहने उनीहरुको घर शुन्य थियो, नजाने गाउँकाे बाटाेजस्ताे। डाेले पुन्न भण्डारीका दुई छाेरा पनि दु:खी थिए। पुसे दमाईसँगकाे धर्म बुझेका उनीहरुकाे लागि त्याे घर हेरेर मेटिने बाबुकाे झल्काे पनि सधैंका लागि गायब भयाे। छाेडेर जानेहरु शत्रु नै भए पनि दु:ख मनाउ गरिन्छ भने उनीरुले त लाेककाे सेवा गरेका थिए, त्यसैले सिंगाे सिंजा शाेकाकुल थियाे।

उनीहरुले बिजेन्द्र र पुसेकाे मृत्युलाई राक्षस र देउतासँग तुलना गरे। महिलाहरुले दाह्रा किटेर बिजेन्द्रका लासलाई मनमनै थुके। पुसे दमाईलाई युगयुग पुजिरहने माैन प्रतिज्ञा गरे।

अर्काेतिर सिंजाका निरीह महिला खुसी थिए। जसले पाएकाे दु:खकाे वदला पुसे दमाईले लिएकाे थियाे। मानाैं, उ त्याे जमानाकाे कार्लमाक्स हाे। जसले विद्राेह के हाे भन्ने कुरा प्रयाेग गरेर देखायाे। किनभने पुसे दमाईले मर्नुभन्दा अगाडि घम्मर ठकुरीकाे छाेराे बिजेन्द्रलाई ठहरै पारेकाे थियाे। दुई मृत्युमा एकातिर शाेक र अर्काेतिर उत्सव चल्याे। नदीका दुई किनारामा उनीहरुका लास सँगै जले। त्यसैले उनीहरुकाे भेट कहिल्यै भएन नदीका दुई किनाराजस्तै।

पुसे दमाईकाे अन्तिम दम, साेझा महिलाकाे साहस बन्याे। उनीहरुले बिजेन्द्र र पुसेकाे मृत्युलाई राक्षस र देउतासँग तुलना गरे। महिलाहरुले दाह्रा किटेर बिजेन्द्रका लासलाई मनमनै थुके। पुसे दमाईलाई युगयुग पुजिरहने माैन प्रतिज्ञा गरे। त्यसयता संसारभर माैनधारणकाे संस्कार बसेकाे हाे।

बाबुकाे मृत्युपछि गाेइली घरमा कम, तुङ्गनाथ पाध्याकाेमा बढी भेटिन्थी। पाध्याकाे परिवारले छाेइछिटाे केहिले गरेन। उसले अपनाएकाे दिनबाट त्याे घर गाेइलीकाे आफ्नैजस्ताे थियाे। उसका बाँकी आफन्त उनीहरु नै थिए। त्यस आलवा डाेले पुन्न भण्डारीका दुई छाेरालाई पनि उसले आफन्त मानेकी थिई। बाबुकाे धर्म मर्न दिनुहुन्न भनेर उ प्रतिबद्ध थिई। पुसे दमाईकाे ४५ दिनकाे तिथिसम्म उ पाध्याकै घर सुति। त्यसपछि घर आएर बाबुले छाेडेकाे कामकाज सम्हाली।

विस्तारै उसकाे घर गुल्जार हुँदै थियाे। साँझमा धुपीकाे रुखजस्ताे। जहाँ, विभिन्न जातका चरा आएर चिरबिर गरिरहेछन्। उ चाहन्थी सिंजा राज्य पनि त्यस्तै हाेस्। जहाँ सबै जातका मानिसहरु विनाभेदभाव बस्न पाउन्। तर संसार डुल्दै र निल्दैपछि मात्र सिंजा आएका खसहरुले रैथाने कामी, दमाई, सार्की र पावैहरुलाई दास बनाए र दमनकाे चक्र घुमाए।

गाेइलीकाेमा टाला सिउन आउने पाका उमेरका मान्ठ बाबुकाे सीप र आमाकाे अनुहार उसमा प्रतिबिम्बित भएकाे देख्दा 'उसका आमा बा यतै छन्, मात्र फरक रुपमा' भन्थे। नयाँ पुस्ताका नयाँ नयाँ डिजाइनका टाला लाउन पाएकाेमा मख्ख थिए। त्यतिबेला गाेइली सिंजाली फेसन डिजाइनर भएकी थिई। महिलाले लगाउने ठेटुकामा कुँद्ने डिजाइनका छिपाे उसैले बनाउँथी। जस्ताे कि, स्वास्तिक छापवाला छिपाे, इटा आकारकाे छिपाे, माछा करङे छिपाे आदि। जाडाेमा पुरुषले लाउने बाेख्खुका भित्रतिर जुम्ली भेडाकाे उन राखेर न्यानाे बनाउने तरिकाकाे आविष्कारक उही थिई।

तुङ्गनाथ पाध्याले दिएकाे शिक्षा-दिक्षा र ज्याेतिष विद्याले मुर्त रुप लिँदै गर्दा गाेइलीमा चमत्कारिक परिवर्तन देखा पर्दै थिए।

उसकाे सीपकाे चर्चा महासामन्त नागराजाकाे दरबारसम्म चलेकाे थियाे। नागराजकाे मृत्युपछि सिंजा राज्यकाे राजकाज चापराजले सम्हाल्याे। यता पुसे दमाईकाे कार्यभार गाेइलीले सम्हाली। सीपले जाेडेकाे सम्बन्ध कसिलाे बन्दै थियाे। त्यसैले दरबारमा समेत उसकाे सहज पहुँच बन्याे। उ युद्धमा सैनिकले लगाउने नयाँ नयाँ खालका पाेशाकका डिजाइन दिन्थी। १३ वर्षकी उ दरबारीया पाेशाक सल्लाहकार थिई। र उ अघाेषित पाेशाक विधायक पनि। तर त्याे अनाैपचारिकमा सिमित थियाे। एक त तल्लो जातकी, त्यसमाथि महिला हुनुले महासामन्तले ओपचारिक कदम चालेन। यसै पनि सामन्तहरुकाे सभामा महिला बर्जित थियाे।

तुङ्गनाथ पाध्याले दिएकाे शिक्षा-दिक्षा र ज्याेतिष विद्याले मुर्त रुप लिँदै गर्दा गाेइलीमा चमत्कारिक परिवर्तन देखा पर्दै थिए। उसकाे चिनामा लेखाएका सबै कुरा वास्तवमै बदलिदै थिए। पाध्याकि श्रीमती, छाेरा, बुहारी उसलाई आफ्नी छाेरीजस्तै माया गर्थे।

तर, छिमेकी बाहुनहरु भने दमाईकी छाेरीलाई बढी पुलपुल्याएकाे भनी आलोचना गर्थे। सार्वजनिक सभाहरुमा सामन्तहरु मुखै फाेड्थे र बहिस्कार गर्ने चेतावनी दिन्थे। पाध्या धर्म हार्न नसेकाे कारण नानी-भाउसँग दुरी नबनाउने भनी प्रतिकार गर्थ्याे। उसले गाेइलीलाई भनेर साँझतिर संस्कृत पढाउने समय छुट्याएको थियाे। भन्थ्याे, 'शिक्षा, दिक्षाले मान्ठ ठूला हुन्या हुन्। जातले हैन। गलत पाठ पढेका मान्ठ नानाे, ठूलाे, जातभात छाेइछिटाे गद्दाछुन। आफूले चार अक्षर पढेकाे हुनाले अरुकन दास बनाउन्या मान्ठकाे कहिले भलाे हुनैन। लाेककाे भलाे चिताउन पुनि ताेइले चार अक्षर पढ्नै पडन्याछ।'

तुङ्गनाथ पाध्या सिंजा साम्राराज्यकाे विद्राेही महाकवि थियाे। त्यसैले उसकाे कवि चेत आदिम साम्यवादतिर गएकाे थियाे। एक समतामूलक सामाजिक चेतवाला उ बगिरहेको धारकाे विपरीत वहन्थ्याे। त्यसैले त जीउँदो, जाग्दाे थियो।

उसले गाेइलीलाई पढाइरहेकाे कुरा गाेप्य राख्याे। नत्र सामन्तहरुकाे माेर्चाबन्दीले उसलाई राज्यद्राेहकाे अभियाेग लगाएर देश निकाला गर्न सक्थ्याे। उ चाहन्थ्याे गाेइलीले एकैपल्ट सारा सिकेर देखाएपछि मात्रै सबै कुरा थाहा हाेस्। याे बुझेकी उ विस्तारै आफै दूरी बनाइरहेकी थिई भने अध्ययनलाई अति गाेप्य राखेर आफूमा निखार ल्याउँदै थिई। संस्कृत अध्ययनकाे साँझकाे समयबाहेक उ खासै आउजाउ गर्दिनथी। बुढेसकालकाे पाध्या एक पटक गाेइली घर नआए खाना रुचाउँदैनथ्याे। भन्थ्याे, 'मर्न्या बेला याे मेरा काखैती हाेस्।' त्यसैले पनि गाेइलीकाे आउजाउ उसकाे लागि प्रिय थियाे। गाेइली हुर्कँदै जाँदा उ ओैधि खुसी थियाे।

गाेइली सर्पले काँचुली फेरेझैं रुप फेर्दैथिई। उमेरसँगै उसकाे शारीरिक विकास पनि भइरहेको थियाे। हर्लक्क बढेकी, सर्लक्क छाँटिएकी, सुगठित शरीर, रेड स्याउकाे रंग जस्ता राता गाला, ठूला बिजुली चम्केजस्ता चम्किला आँखा, अनारका दानाजस्तै मिलेका दाँत, स्याउका दानाजस्ता कसिला स्तन, कलाकाेसे नाक, सिन्की चिरे ओठ, चाैंरी फुर्के कपाल र बारुले कम्मरले उ बिछट्टै राम्री देखिन्थि। समग्रमा उ सिंजाली झराली(जगेडा) सेनाले तिब्बती दरबारबाट लुटेर ल्याएका सुनका सिक्का जस्ति थिई, भण्डार घरकाे बाकसमा नयाँ बासनादार टालाले बेरेर राखिरहुँजस्ती।

गाेइलीकाे सहज उपस्थिति उनीहरुका लागि पाच्य थिएन। महासामन्त उनीहरुको आलोचना थेग्न नसक्ने हुनाले उसलाई अलग राख्न विवस थियाे।

अघाेषित पाेशाक सल्लाहकार भएपछि दरबारकाे शुक्रबारे भाेजमा उसकाे उपस्थिति अनिवार्यजस्ताे थियाे। सामन्तहरुले आलाेचना गरिरहने हुनाले उसका लागि बस्ने अलग स्थान बनाइएकाे थियाे। गाेइलीकाे सहज उपस्थिति उनीहरुका लागि पाच्य थिएन। महासामन्त उनीहरुको आलोचना थेग्न नसक्ने हुनाले उसलाई अलग राख्न विवस थियाे। त्यसमाथि सभा बहिस्कार गर्देलान भन्ने पिर। किनभने उसका बुद्धिविवेक उनीहरु नै थिए। दरबारिया विलासका स्राेत उनीहरुकै सल्लाहमा सफल भएका उदाहरणहरुलाई बढाइ-चढाइ गरेर शिलालेख कुँद्ने परम्पराग बसालेका थिए। उनीहरु नभए कुनै कृति स्तम्भ युगयुग रहँदैनथ्याे।

महासामन्तले राज्यस्तरबाट कुनै ओैपचारिक पाठशाला खाेलेका थिएनन्। न त ऋषिमुनिका आश्रममा प्रजाजनकाे पहुँच नै थियाे। पढेलेखेका सबै सामन्तहरु भएपछि उनीहरुको गाेलचक्करमा सामेल हुनुबाहेक विकल्प थिएन।

दासहरुलाई दबाउने सल्लाह उनीहरुले नै दिन्थे। जति दास दबायाे उति अन्न फल्थाे। सिंजा साम्राज्यमा फलिफाप हुन्थ्याे। पशुवस्तुकाे संख्या दिन दुईगुना राच चाैगुना बढ्थ्याे। दरबारमा 'खाई, पिई खाल्डा हाल्ने' दूध हुन्थ्यो। त्यही दुधकाे तरबाट बनेकाे घ्यू सामन्तहरु पाेल्थे भने महासामन्तकाे भाेजनालय मगमगाउँथ्याे।

गाेइलीले तुङ्गनाथ पाध्यामार्फत इतिहास बुझेकी थिई। सामन्तहरुले कामी, दमाई, सार्की र पावैहरुलाई कसरी दास बनाइरहेका थिए, यसकाे नालीबेली उसकाे दिमागकाे भण्डार गृहमा सुरक्षित थियाे। त्यसैले उ कुनै न कुनै माध्यमबाट त्यसलाई विद्रोहकाे रुप दिन तत्पर थिई। चाहे त्यसकाे असर दरबारमै किन नपराेस्!

उसकाे रुप र सीप मात्रै हाेइन, स्वर पनि सिंजा साम्राज्यमा हलचल मच्चाउने खालकाे थियाे। वैद्यकाे कठाेर तपस्यापछि आमा घाेगीसरा र बाबू पुसे दुबैकाे गलालाई रिफाइन गरेर उसकाे घाँटीमा राखिएजस्ताे लाग्थ्याे। त्यसैले उ दरबारमा मनाेरञ्जनका लागि पनि काममा आइरहन्थि। उसाे त रुप्या दासीहरुलाई छानेर नर्तकी बनाउने काम पनि आसेपासेबाट हुँदै आएकाे थियाे। छेउमा बसेर उसले गाएकाे तालमा नाच्दा नर्तकीहरु स्वर्गमा इन्द्रका अगाडि नाचेका अप्सरा भन्दा बढ्ता सुन्दर देखिन्थे।  र नाैरंगी नाच देखाउँथे। लाग्थ्याे, उनीहरु पुर्सा डाँफे हुन्। भाले मयुर हुन्।

उ गीतलाई कामी, दमाई, सार्कीहरुकाे गुमेकाे इतिहास पुनर्लेखनकाे माध्यम बनाउन चाहन्थी। सामन्तहरुले दरबारकाे चाकडी गर्दै रचिने कृत्रिम इतिहासकाे ध्वज्जी उडाउँदै नयाँ इतिहास रच्ने दाउमा थिई। मानाैं १२ओैं शताब्दीमै मार्क्स, ऐंगेल्सकाे कम्युनिष्ट घाेषणापत्रकाे मस्यौदा तयार भइसकेको थियाे। तर उ एक्ली थिई। उसकाे गुप्त संगठन थिएन। विद्रोहका लागि नियमित र झराली सेना थिएनन्। त्यसैले वेदना बनेर माैन विद्रोहकाे बीज राेप्ने काम गरि।

चिनाे चित्ताे गरिहाल्याैं, घर र वनकाे।
हजुरलाई सुनाउन लाग्या, वेदना मनकाे।।
कति दुखी कति सुखी, नबास न्याउली चरा।
मनका बैरागीकन, झल्का लगाई खरा।।

सिंजा साम्राज्यका लाेकका सुख-दुःखकाे हिसाबकिताब नै उसले राेपेकाे विद्राेहकाे बीज थियाे। तर महासामन्त चापराजकाे जाेठाे छाेराे लवराज गाेइलीले गाएकाे चाख मानेर हेरिरहन्थ्याे। १९ वर्षकाे उ गाउनमा सिपालु थियाे। सवाल जवाफमा पनि उम्दा। सधैँजसाे ढाडमा मुरली भिरेर हिँड्थ्याे, त्रेता युगकाे कृष्णजस्ताे। उ शिकार खेल्न जाँदा मुरली बजाउँथ्याे। उसले बजाएकाे मुरलीकाे धुन सुन्दा चाैरमा खेलिरहेका गाेठालाहरु टक्क अडिन्थे। साउने हरियाे घाँसले ढुबेका गाई, भैंसी, पाटनकाे बुकीका बासले खिलखिलाइरहेका घाेडाघाेडी चर्दाचर्दै राेकिन्थे। घाँस चपउँदा चपाउँदै दाँत बज्न छाेड्थे। मुखकाे आहार भुइँमा खस्थ्याे। कस्तुरी, मृग एकाेहाेरिन्थे। त्यही माैकामा उ मन लाग्दाे शिकार गर्थ्याे।

महासामन्तले राजकाज सम्हालेकै वर्ष तिब्बत खारि प्रदेशसँगकाे लडाइँ जितेर सिंजा फर्केपछि त्यसैकाे खुसियालीमा चापराजकाे अधिकतम समय उसैसँगकाे रतिरागमा बित्याे।

सिंजा राज्यभर उसकाे मुरली र शिकारकाे चर्चा थियाे। गाउँ-गाउँमा उसका उस्तै किस्सा थिए। त्यसैमध्येकाे एउटा चर्चित किस्सा यस्ताे छ, 'एक दिन युवराज लवराज वुन एक्लै डुल्ल गयाका छिया। हिड्डै हिड्डै भण्डार वुन पुग्या। ताँई एक जाेली बाघ मुख हाँ आँ गरिकन खान आएका बेला तीनुले ढाडाैंदाे राख्याकाे मुरुली निकाल्या र बजाउन लाग्या। जाेली बाघ जाँ छिया ताँई अडिया। तीनुले चार घडीसम्म लगातार मुरुली बजाइराख्या। त्यैबेला वनपाखामा बतास चल्याेन, रुखका पात हल्लियानुन्, बग्गा बग्दै बग्याकाे पानी राेकियाे, चडाहरु उठ्यानुन्, पशुवस्तु चर्‍यानुन। सिंजा राज्यमा कसैले च्याँ म्याँ गर्‍याेन। सुइयाे छत्तियाकाे आवाज पुनि बुन्दुक पड्कायाजस्ताे ठुलाे लाग्दाे छियाे। शान्त बस्याका मान्ठका मुन अशान्त भया। जाेली बाघ मुख हाँsssआँ गर्‍याका गर्‍यै भया र पत्थरीया। ती पत्थरियाका शिउ बाघ ल्याइकन कनकासुन्दरी गडीमा राखियाकाे हाे।'

उ चापराजकी जेठी रानी रुपमतीबाट जन्मिएको हाे। महासामन्तले राजकाज सम्हालेकै वर्ष तिब्बत खारि प्रदेशसँगकाे लडाइँ जितेर सिंजा फर्केपछि त्यसैकाे खुसियालीमा चापराजकाे अधिकतम समय उसैसँगकाे रतिरागमा बित्याे। राजकाजमा कम, याैन सुखमा बढी लागेकाले रुपमतीले माेहनी लगाएकाे भनी दरबारमा चर्चा चलिरहन्थ्याे। त्यसैले उसबाट जन्मेको छाेराका नाम युवराज लवराज राखियाे।

लवराज बढ्दै किशाेरावस्थाकाे उत्तरार्धमा पुगेको थियाे। त्यही समयमा दरबारमै भव्य गायन गरिरहेकी गाेईलीतिर उसकाे मन गयाे। उसलाई धेरै दिनदेखि गाेइलीसँग सवाल जवाफ गर्न मन लागेकाे थियाे। तर आँट आएकाे थिएन। एकदिन उसले मुख फाेड्याे।

कर्नालीकाे सेराेफेराे, उकालाे ओरालाे।
काँदै आयाै गाेइली दैया, गाथ छ क्या सुखालाे??

उसले युवराजकाे सवालमा जवाफ फर्काउन उचित ठानिन। त्यसमाथि अनेक खालका टिप्पणी हुने उसले बुझेकी थिइ। तर पनि नदी बगेझैं युवराज गाेइलीकाे 'बालाे जाेवन'का पछि-पछि बगिरहेकाे थियाे। जहाँ देख्छ छेडछाड गरिरहन्थ्याे। उ वास्ता नगरि हिँडिदिन्थी। उसलाई थाहा थियाे, लवराजले चाह्याे भने जे पनि गर्न सक्छ। तै पनि उ डराएकी थिइन। एक दिन त कस्साे सवालकाे जवाफ फर्काउने दिन नआउला भनि कुरीरही। लवराज आँत पाएजस्ताे थियाे, झन् नजिकिँदै थियाे। एक दिन फेरि गीतबाटै छेड्याे।

चहकिलाे दुल्लु डाँडाे, उज्यैलाे ठाँटीय।
पहिला भेट हजुरका थला, जस दियै माटिय।।

गाेइली गायनमा मात्र हाेइन सवाल जवाफमा पनि अब्बल थिई। सिंजाका नामि देउडीयालाई र्‍याक र्‍याक पारेकैले उसँग खेल लाउन सितिमिति कसैले आँट गर्दैन थियाे। 'चाखाैंदाे गु टालियाकी छाेट्टी यति सिपालु कसरी भई?' भनी नामि देउडियाहरु गम खान्थे। तर लवराजकाे आँटलाई उसकाे हृदयले स्वीकार्याे र जवाफ फर्काई।

रामजस्ता रुपैला शाहीकाे स्वर घुम्दाेछ गला।
नाैला मान्ठ नाैलाे भेट, यै रमाइला थला।

जवाफ पाएपछि लवराज ओैधि खुसी भयाे। उसलाई महासामन्तले उत्तराधिकारी घाेषणा गर्दाकाे दिन भन्दा कता हाे कता बढी खुसी मिल्याे।

राजकाज र गाेइलीकाे जवाफमा आकाश पातल फरक पायाे। उ झन् लहसिन थाल्याे। वर्षामासकाे जुकाजस्ताे। दरबारका सुरारेमार्फत रैबार हालिरहन्थ्याे। गाेइली उसले भने बमोजिम दरबारमा उसलाई भेट्न जाँदिन थीई। बरु धाेबिगाड माथिका पालमा बाेलाउँथि। उनीहरुबीच राती खेल्न जान्या सल्लाह हुन्थ्यो। गाेइली फलाना ठाउँ आया भनी पछ्याैरा दिन्थि। राती सबै सुतेपछि उ जाग्थ्याे र दिउँसाेकाे वचनअनुसार राम थलामा पुग्थ्याे। 



नेपथ्यकी गाेइली

प्रकाशित मिति: : 2021-09-04 09:36:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ