अब कोरोना संक्रमित भए उपचार खर्च आफैँले व्यहाेर्नुपर्ने

फाइल तस्वीर
फाइल तस्वीर

सरकारले अब कोरोना भाइरसको परीक्षण र उपचार खर्च नव्यहोर्ने भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै सरकारी तथा निजी अस्पतालमा उपचार गराउने संक्रमितको हकमा यो व्यवस्था लागू हुने गरि यो नियम लागू गरेको जानकारी दिए।

‘सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्नेछ,’ उनले भने। 

तर उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिने उनले बताए।

‘बिमा गराएका व्यक्ति अस्पताल भर्ना भए। निजको बिमाबाट उपचार गरिने छ। बिमा नगरेका व्यक्ति भर्ना भए परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ प्रवक्ता डा गौतमले भने।

योभन्दा अगाडि संक्रमितको अस्पताल खर्च सरकारले व्यहोर्दै आइरहेको थियो।

तर दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा सरकारले थेग्न नसक्ने भएपछि यस्तो निर्णय गरेको हो। यो नियम आजदेखि नै लागू हुने उनले बताए।

त्यस्तै सरकारले निजी, सामुदायिक अस्पतालहरुमा २० प्रतिशत शैय्या तथा मेडिकल कलेजहरुले ३३ प्रतिशत शैय्या छुट्याउने निर्णय परिवर्तन गरेकाे छ। 

प्रवक्ता गाैतमका अनुसार अब सबै अस्पतालहरुले कम्तिमा आईसियू लगातयका पूर्वाधारहरुसहित ५० प्रतिशत शैय्या कोभिड-१९ व्यस्थापनका लागि छुट्याउनुपर्ने छ।

त्यस्तै आइसोलेसनमा रहेका संक्रमितलाई पछिल्लो ३ दिनअघिदेखि लक्षण नदेखिएमा १० दिनमा डिस्जार्च गर्ने र उनीहरुले ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने शर्त पालना गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति: : 2020-10-18 17:16:00

प्रतिकृया दिनुहोस्