सरकारको निर्णय : क्वारेन्टाइनलाई आइसोलेशन सेन्टर बनाइने, सडकपेटीमा पसल राख्न नदिइने

सरकारले काठमाडौं उपत्यकालगायतका बढी प्रभावित जिल्लाहरूमा साविकमा तयार भइ हाल प्रयोगमा नरहेका क्वारेन्टाइनलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ। 

गृह मन्त्रालयसँगको समन्वय र सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  पन्ध्र दिनभित्र आइसोलेशन सेन्टर निर्माण गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। 

असोज २६ गतेको मन्त्रिपरिषद् बैठकले संक्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लाहरूमा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरहरूलाई आवश्यकताअनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय समेत गरेको जानकारी दिए।

यसैगरी कोभिड अस्पतालको रूपमा रूपान्तरण भएका देशभरिका सबै सरकारी तथा सार्वजनिक अस्पतालहरूमा प्रत्येक प्रदेशमा कम्तीमा २०० र काठमाडौं उपत्यकामा २ हजारको सङ्ख्यामा आवश्यक सुविधा र उपकरणसहितका हाइडिपेन्डेन्सी यूनिटको रूपमा पन्ध्र दिनभित्र स्तरोन्नति गर्ने निर्णय समेत भएको छ। 

यसैगरी बैठकले पशुपति क्षेत्रमा हाल प्रयोगमा रहेको विद्युतीय शवदाह गृहलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने भएको छ। यसका साथै आवश्यक जनशक्तिको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय भएको छ।

उनका अनुसारने थप एक हाइब्रिड शवदाह गृह निर्माण गर्न आवश्यक स्रोतको व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय समेत भएको छ। 

सर्वसाधारण नागरिकलाई आफू रहेकै स्थानमा बसी बडादशैं, तिहार छठलगायतका चाडपर्व मनाउन आह्वान पनि बैठकले गरेको छ। 

यस्तै सरकारी र सार्वजनिक कोभिड अस्पतालमा उपलब्ध आईसीयू र एचडीयू नपुग भएमा निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा पनि आईसीयू र एचडीयूको व्यवस्था गर्ने निर्णय बैठकले गरेको गुरुङले बताए। 

यसैगरी बैठकले आसन्न चाडपर्वहरूलाई ध्यानमा राखी सडकपेटीमा तथा अन्य स्थानमा अव्यवस्थित तवरबाट पसल, व्यापार व्यवसाय आदि सञ्चालन गर्न नदिने निर्णय पनि गरेको छ। 

बैठकले सबै स्थानीय तहले टोलटोलमा माइकिङ्गलगायतका अन्य उपयुक्त माध्यमबाट कोभिड–१९ को संक्रमण र रोकथामसम्बन्धी सचेतना र जनजागरणका कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ। 

प्रकाशित मिति: : 2020-10-19 19:00:00

प्रतिकृया दिनुहोस्