यी हुन् तस्करी रोक्न खाेज्दा प्रहरीको विभत्स हत्या गर्ने ७ अभियुक्त

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडा अस्थायी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले अभियुक्तहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको बिएल नेपाली सेवालाई जानकारी दिए।  

उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा यी ७ जनाको संलग्नता देखिएको छ। उनीहरुले असई विकले मटर तस्करीमा अवरोध गर्न खोजेपछि हत्या गरेको बयान दिएका छन्। थप अनुसन्धान जारी छ।’

पक्राउ परेका सातै जना लामो समयदेखि सीमा क्षेत्रमा तस्करीमा संलग्न रहेको खुलेको उनले बताए। पक्राउ परेका सातै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख देउवाले बताए।

गत शनिबार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए।

राति नियमित गस्तीमा खटिएका इन्चार्जसमेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए। बिहानसम्म प्रतिक्षा गर्दासमेत नआएपछि खोजी गरिएको थियो।

खोज्दै जाँदा असई बिकको शव हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा धनगढी उपमहानगरपालिका ११ को मोहना खोलामा भेटिएको थियो।

उनको शव घाँटी रेटेर हत्या भएको अवस्थाम शव फेला परेको थियो।

यता बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको छ। प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो।

जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको प्रहरीको भनाइ छ । जवान साउदको टाउकोमा लाठी र गर्धनमा फरुवाको जस्तो चोट देखिएको छ ।

उनीहरुले चढ्ने मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ।

प्रकाशित मिति: : 2020-10-20 17:30:00

प्रतिकृया दिनुहोस्