विज्ञ भन्छन्– काेराेनामुक्त भएकाे तीनदेखि पाँच महिनामा फेरि संक्रमित हुन सक्छाैं

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले कोरोना भाइरस संक्रमणबाट निको भएपछि पुनः यसको संक्रमण हुने दावी गरेको छ।

आईसीएमआर निर्देशक डा बलराम भार्गवले उक्त कुराको दावी गरेका हुन्।

उनले भने, ‘हामीले अहिलेसम्म गरेको अनुसन्धान अनुसार संक्रमण निको भएपछि तीनदेखि पाँच महिनासम्म शरीरमा प्रवेश गरेका भाइरसहरु ज्यूँदै हुन्छन्।’

तर यो समयपछि भाइरस आफैँ निस्क्रिय भएर जाने उनको दावी छ।

‘तर यसपछि तिनीहरूको संख्या घट्दै जान्छ। यदि कुनै व्यक्तिमा ९० दिन भित्र फेरि संक्रमण भयो भने यसलाई पुनः इन्फेक्सन भनिन्छ। यसपछि भाइरस निस्क्रिय हुन सक्छ।’

उनले विश्व स्वास्थ्य संगठनले तीस देशहरुमा भइरहेको परीक्षणको नतिजाहरुलाई सरकारले आधार मानेर थप सुरक्षित हुने बाटो अवलम्बन गर्नुपर्ने बताए।

यस्तै उनले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिएको रेमेडिसिभिर र हाइड्रोक्सीक्लोरोक्विन औषधीको प्रभाव अपेक्षानुसार नभएको समेत बताएका छन्। विश्व स्वास्थ्य संगठनको रिपोर्टलाई आधार मानेर भएपनि यसलाई रोक्नुपर्ने उनले बताए।

यद्यपि उनले भने, ‘अहिले ट्रायलको नतिजा वेबसाइटमा पोष्ट गरिएको छ। तर यसमा अझै काम गरिरहेका छौं। हामी ट्रायलका नतिजाहरूको लागि कुर्दै छौं र आवश्यक परेमा यससम्बन्धी दिशा निर्देश जारी गर्नेछौं।’

यसका साथै डा भार्गवले भने कोरोना भाइरस संक्रमण भएर गम्भीर भएका बिरामीहरूको उपचारको लागि प्लाज्मा थेरापी कत्तिको प्रभावकारी छ भन्ने कुरामा पनि अनुसन्धान भइरहेको बताए।

कोरोना भाइरस संक्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि प्लाज्मा थेरापीबारे विभिन्न चर्चापरिचर्चा शुरू भएको छ।

कोरोनाभाइरविरुद्ध खोपको विकास भइनसकेको पृष्ठभूमिमा बिरामीलाई यो विधिबाट गरिने उपचार उपयुक्त विकल्प हुनसक्ने कतिपयले तर्क गर्ने गरेका छन्।

तर कतिपय विशेषज्ञ चिकित्सकहरू कोरोना संक्रमित जोकोहीको हकमा पनि प्लाज्मा थेरापी प्रभावकारी सिद्ध भइसकेको भन्ने निष्कर्ष निकाल्न अहिले हतार हुने बताउँछन्।

प्रकाशित मिति: : 2020-10-22 07:50:00

प्रतिकृया दिनुहोस्