नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध र सुनसहित चारजना पक्राउ

सशस्त्र प्रहरीले कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध र सुनसहित चार जनालाई शनिबार साँझ पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका २ का १६ वर्षीय हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का २८ वर्षीय मनिष सुनारलाई पक्राउ गरिएको हो।

पक्राउ परेका मध्ये शाहबाट सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

यसैगरी भीमदत्त नगरपालिका ३ भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागुऔषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरिएकाे छ।

पक्राउ परेकाहरुबाट लागुऔषध कोरेक्स ६०० मिलिटरका छ बोतल, नाइट्रोभ्याट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको ऐरले जानकारी दिए।

बरामद लागुऔषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ।

प्रकाशित मिति: : 2020-10-25 12:21:00

प्रतिकृया दिनुहोस्