बेथिति

राष्ट्रिय खेलाडी जन्माएकाे दशरथ रंगशालाको स्विमिङ पुल ‘डम्पिङ साइट’मा परिणत

उमेश थापा

काठमाडौं

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाभित्र एउटा स्विमिङ पुल छ। जुन स्विमिङ पुलमा विगतमा सानादेखि राष्ट्रियस्तरका स्विमरहरुले पौडी खेल्न सिक्थे र ठुला–ठुला प्रतियोगितको लागि तयारी गर्थे। देशमा हुने स्विमिङ प्रतियोगिताहरु पनि यसैमा हुन्थे। त्यति मात्रै होइन, यो स्विमिङ पुल सर्वसाधारणको लागि पनि खुल्ला गरिएको थियो, जसबाट आम्दानी पनि हुथ्यो।

तर, अहिले यो स्विमिङ पुल ढुङ्गा, झारपात, प्लास्टिक, काठका टुक्रा र थोत्रा गाडीले भरिएको छ। यसरी खेलाडी जन्माउने र लाखौँ कमाउने यो स्विमिङ पुल फोहोर फाल्ने डम्पिङ साइड बनेको छ।

२०७२ सालमा गएको भूकम्पपछि यो स्विमिङ पुल ‘डम्पिङ साइट’मा परिरणत हुँदै गएको हो। त्यसयता यस स्विमिङ पुलमा न त सरकारको ध्यान गएको छ, न त राष्ट्रिय खेलकुद परिषद् (राखेप)को।

‘यस स्विमिङ पुल मर्मत नगरेका कारण हामीहरु निकै अन्योलमा छौँ। स्विमिङ पुलले रंगशालको शोभा पनि बढाएको थियो। तर, स्विमिङ पुल बनाउनमा कुनै निकायको चासो गएन,’ त्रिपुरेश्वरका बालकृष्ण श्रेष्ठले भने।

गर्मी महिनामा यो स्विमिङ पुलबाट दैनिक आर्थिक लाभ लिन सकिन्छ। गर्मी महिनामा सर्वासाधारणबाटै दैनिक ३ हजारसम्मा आम्दानी हुन्थ्यो। यस हिसाबले अहिले राज्यले यो स्विमिङ पुलबाट वार्षिक लाखौँ पैसा गुमाइरहेको छ।

यो स्विमिङ पुल पुरानो र जीर्ण भएकोले यसको व्यवस्थापनमा नलागेको राखेपका प्रमुख प्रशासक मधुसुदन बस्नेत बताउँछन्। ‘यो स्विमिङ पुल निकै पुरानो भइसकेको छ। राष्ट्रिय खेलाडीहरुको लागि सातादोबाटो स्विमिङ पुल छँदैछ नि। अझैं सर्वसाधारणहररुको लागि अहिले निजी स्विमिङ पुलहरु थुप्रै छन,’ उनले भने। यसलाई ठुलो बनाउने विषयमा भने छलफल भइरहेको उनले जानकारी दिए।

०७२ सालमा भूकम्प जाँदा राखेपाका सदस्य सचिव पदमा केशव विष्ट थिए। उनको पालोमा स्विमिङ पुल भूकम्पले भत्किएको थियो। तर, उनी गएपछि धेरै सदस्य सचिवहरु आए पनि त्यसमा सकैको ध्यान जान सकेको छ।

हाल राखेप सदस्य सचिव पदमा टंकलाल घिसिङ छन्। उनी पनि सदस्य सचिव भएको डेढ वर्ष भयो तर अहिलेसम्म पनि उलने त्यो स्विमिङ पुलको अवस्था हेर्न भ्याएका छैनन्।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवराम न्योपानेले यो स्विमिङ पुलको जिम्मा राखेपको भएको र त्यसमा राखेपको ध्यान किन जान सकेन भन्ने विषयमा थाहा नभएको गैरजिम्मेवारपूर्ण जवाफ दिए। ‘हामीले पोलेसी मेकिङ र मेन्टरिङ गर्ने हो। राष्ट्रिय खेलाडी र सर्वसाधरणहरु लागि स्विमिङ पुल निकै आवश्यकता पर्छ। सर्वसाधारणहरुबाट पैसा कमाउन मिल्ने ठाउँ पनि हो यो। यस सम्बन्धमा म चाँडो भन्दा चाँडो बुझ्ने कोसिस गर्छु,’ न्यौपानेले भने।

प्रकाशित मिति: : 2023-05-17 18:20:00

प्रतिकृया दिनुहोस्