हातेमालाेमा बेथिति: भाग– १

चिनियाँहरुसँग मिलेर अवैध काराेबार गर्दै हातेमालो सहकारी

उमेश थापा

काठमाडौं

टोखा नगरपालिका– ७ स्थित बसुन्धारामा रहेकाे हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको छवि र प्रभाव राम्रो छ। उक्त सहकारीले ग्राहकहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ। मुद्रास्फीतिका कारण देशव्यापी सहकारीहरु घाटामा रहे पनि हातेमालो बहुउद्देश्यीय सहकारी संस्था नाफामा रहेका केही सहकारीहरूमध्ये एक हो।

देशको मुद्रास्फीति दर ८.१ प्रतिशत भएपछि सेवाग्राहीहरु सहकारीमा आफ्नो पैसा जम्मा गराउने प्रवृत्ति ओरालो लागेको छ। देशको अर्थतन्त्र डामाडोल भए पनि हातेमालो बहुउद्देश्यीय सहकारी संस्था आफ्नो कारोबारहरु केही नभएझैँ गर्दै आएको छ।

तर, बाहिर प्रभावशाली छवि बनाए पनि हातेमालोको भित्री कर्तुत निकै कालो छ। संस्थाका कर्मचारीहरुका अनुसार उक्त सहकारीमा मासिक तीनदेखि चार चिनियाँ व्यापारीहरु कारोबार गर्न आउँछन्। सहकारी ऐन अनुसार कुनै पनि सहकारी संस्थामा विदेशी व्यक्तिहरुले कारोबार गर्न मिल्दैन। तर, हातेमालोले भने कानुन र नियमको धज्जी उढाउँदै चिनियाँहरुसँग खुलेआम व्यापार गर्दै आएकाे छ।

सहकारी ऐन अनुसार कानुनविपरीत कारोबार गरेको खण्डमा सहकारी बन्द त हुँदैन तर त्यस सहकारी कार्य समिताका सम्पूर्ण सदस्यसहित अध्यक्षसमेत कारबाहीमा पर्ने छन।

कर्मचारीहरुका अनुसार अध्यक्ष घनश्याम अधिकारीले चिनियाँ व्यापारीहरुलाई राहदानीको आधारमा ऋण दिँदै आएका छन। उनको कर्तुत आफ्नो सहकारीबाट बाहिर चुहावट नहोस् भनी सहकारीमा कार्यरत सबै कर्मचारीलाई आफैंले कार्यालयको सिमकार्डसमेत प्रदान गर्ने गरेका छन्। कर्मचरीले काम छोडेको दिन त्यो सिमकार्ड फिर्ता लिन्छन्। अवैध कारोबार गरेकाे बारेमा थाहा नहोस् भनी उनी भर्खरका सिकारुलाई नियुक्त गर्छन्।

त्यहाँको कर्मचारीबाट यस्तो सूचना पाएपछि समाचार प्रकाशन गर्नुअघि तथ्य जान्न सहकारीको कार्यालयमा सम्पर्क गर्दा कसैले जफाव दिएनन्। अध्यक्षको सम्पर्क नम्बर माग्दा पनि आफूहरुलाई गाह्रो पर्ने भन्दै दिन चाहेनन्।


‘नगरप्रहरीमा भर्ना गरिदिन्छु भन्दै लाखौँ पैसा उठाउँछन् राजु पाण्डे’


बारम्बार प्रयास गर्दा पनि अध्यक्षसँग सम्पर्क नभएपछि हामी टोखा नगरपालिकाको सहकारी शाखामा पुग्यौँ। साेही नगरपालिकाका मेयरलाई निवेदन लेखेर हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षको सम्पर्क नम्बर लिएर हामी फर्कियौँ। त्यहाँबाट निस्केको केही समयमै आफूलाई हातेमालोको कार्य समिति सदस्य बताउने अशोक विकले सम्पर्क गरे।

मंगलबार बिहान अध्यक्ष घनश्याम अधिकारीलाई सम्पर्क गर्दा उनी एक्कासी हामीमाथि खनिए। ‘तपाईं कस्तो खालको पत्रकार हो ? केही पढ्नु भएको छैन। हाम्राे पछि किन पर्नुभएको हो ? कि बार्गेनिङ गर्न खोजेको हाे ? के चाहिएको हो तपाईं लाई ?,’ उनले जथाभावी आरोप लगाए। उनलाई संयमित बनाउन निकै प्रयास गर्‍याैँ तर उनका आधारहीन आरोपको वर्षा रोकिएन। उल्टै, उनले धाम्क्याउन थाले। उनले भने,‘तपाईंलाई थाहा छ मेरो दश वटा कम्पनी छ।’

उनकै संस्थाबाट प्राप्त स्रोतका अनुसार काठमाडौँमा उनका २० वटा कम्पनी छन्, जहाँबाट उनले चिनियाँ व्यापारीबाट लिएको पैसा ‘लान्ड्रिंग’ गरी कालो धनलाई सेतो बनाउँछन्। निकै बेरको एकतर्फी वार्तालावपछि हामीले आफ्नो प्रश्न राख्ने मौका पायौँ।

तपाईंको सहकारीमा बिदेशीले कारोबार गर्छन् र ?

झर्किंदै उनले भने,‘हाम्रो सहकारीमा त्यस्तो कुनै कारोबार हुँदैन। तपाईंहरु सरकारी निकायमा गएर हाम्रो सहकारी डुब्यो भन्दै नानाथरी कुरा गर्दै हिँड्ने ?’ सोमबार टोखा नगरपालिकाको सहकारी शाखा अधिकृत कमला कार्कीसँगको हाम्रो भेटपछि उनले अध्यक्ष अधिकारीलाई सम्पर्क गरेर उनको सहकारीको खोजतलास मिडियाले गरेको चेतावनी दिएकी रहिछिन्।


सुत्केरी नगर प्रहरीले 'ड्युटी' मिलाइ माग्दा एसपी राजु पाण्डेको जवाफ: 'तैँले मेरो बच्चा पाको होस् र ?'


अधिकारीले उनको सहकारीमाथि लागेको आरोप नकारे पनि त्यहाँ कार्यरत कर्मचारीले हरेक हप्ता दुईदेखि चार जना चिनियाँ नगारिकले २७ लाखसम्म पैसा सहकारीमा जम्मा गराउने बताए। ऋण पनि चिनियाँहरुलाई सहज रुपमा केवल राहादानीको आधारमा मात्र प्रदान गरिने तर नेपाली नागरिकलाई ऋण प्रदान गर्न हिचकिचाउने स्रोतले बताए।

सहकारी ऐन अनुसार बिदेशी नागरिकलाई यसरी अवैधानिक रुपमा ऋण प्रवाह गरे सहकारीलाई तीन लाखसम्मको जरिवाना र सम्पूर्ण कार्य समितिलगायत अध्यक्षलाई जेल सजाय हुने प्रावधान छ।

टोखा नगरपालिकाकाे कार्यालयमा दर्ता भएको हातेमालोको यस्तो अवैध धन्दाबारे सहकारी शाखा अधिकृत जानकार नभएकी बताउँछिन्। उनी भन्छिन्,‘हाम्रो नगरपालिकामा १ सय १० सहकारी दर्ता छन्, जसमा दुईदेखि तीन सहकारीमा मात्र अनियमितता देखिन्छ तर हामीले बुझेअनुसार हातेमालोमा त्यस्तो कुनै अनियमितता छैन।’

प्रकाशित मिति: : 2023-01-11 22:05:00

प्रतिकृया दिनुहोस्