राजधानीमा पटाका भित्र्याउनेलाई विस्फोटक मुद्दामा अनुसन्धान !

प्रहरीले रौतहटबाट काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एकलाई नियन्त्रणमा लिएको छ।

नागढुंगा चेक प्वाइन्टबाट रौतहट राजदेवी नगरपालिका ६ का ३२ वर्षीय पिन्टु जैसवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएकाे छ।

प्रहरीका अनुसार ना६ख ७११४ नम्बरको यात्रुबाहक बसमा पटाका लिएर काठमाडौं आइरहेकाे बेला नियन्त्रणमा लिइएकाे वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। 

जैसवालको साथबाट खुर्सानी पटाका ८ हजार ४०० थान, सिंगल रकेट १२ थान, गमला पटाका ८० थान, बुलेट पटाका १०० थान र लामो रकेट पटाका १९० थान बरामद गरिएकाे छ।

पक्राउ परेका जैसवाललाई हिरासतमा राखेर उनीमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको श्रेष्ठले बताए। 

प्रकाशित मिति: : 2020-10-28 20:44:00

प्रतिकृया दिनुहोस्