तरकारी र फलफूलको बलि दिएर दशैँ मनाइयो

च्याङ्ग्रा खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो। विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन्।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन्। उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताए। 

स्वास्थ्य सेवा आजदेखि सञ्चालनमा 

हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाढ गाउँपालिका–५ गोठी गाउँकी २१ वर्षीया किशोरी शाहीलाई कोरोना सङ्क्रमण देखिएको थियो। त्यसलगतै विद्युत् कार्यालयका तीन जना, सशस्त्रका दुई जना, ताँजाकोट गाउँपालिकाका एक शिक्षक र स्वास्थ्य सेवा कार्यालय सिमकोटकी एक अनमी गरी जम्मा ८ जनालाई कोरोना सङ्क्रमण देखिएपछि विद्युत् कार्यालय र स्वास्थ्य सेवा कार्यालयमा घेरा बन्दी गरिएको थियो। यही कात्तिक ३ गतेदेखि १२ गतेसम्म बन्द रहेको स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको स्वास्थ्य सेवाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2020-10-29 13:57:00

प्रतिकृया दिनुहोस्