महिला फुटबल टोलीलाई बेवास्ता किन ?

बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

 कोरोना भाइरसको महामारीका कारण नेपाली खेलकुद लामो समयदेखि ठप्प छ । केही खेलका प्रशिक्षणहरु भए पनि प्रतियोगिता भने सञ्चालनमा आउन सकेका छैनन् । यसैबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लामो समयपछि मैत्रीपूर्ण खेलमा लागि मैदान फर्केको छ ।

नेपाली फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसमा लागि नेपाली टोली बिहीबारदेखि दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको छ । विश्वकप छनोटका लागि रहेका ३४ खेलाडीलाई नै एन्फाले प्रशिक्षणका लागि बोलाएको हो । हाल खेलाडीहरु कोरोना भाइरससम्बन्धी मापदण्डहरु अपनाएर प्रशिक्षण थालेका छन् । तीमध्ये ५ जनामा भने कोरोना संक्रमण देखिएकाले प्रशिक्षणमा सहभागी छैनन् । उनीहरु करिब आठ महिनापछि प्रतियोगिताका लागि मैदान फर्किएका हुन् ।

यसअघि टोलीले केही दिन एन्फा कम्पलेक्समा प्रशिक्षण गरेको थियो । कोरोना भाइरसको महामारी बढ्दै गएपछि प्रशिक्षण केही दिन रोकिएको थियो । पुरुष फुटबल टोलीले यसरी प्रशिक्षण गरिरहँदा महिला फुटबलबारे भने हालसम्म एन्फाले केही निर्णय गरेको छैन । पुरुष फुटबलका लागि बारम्बार सोच्‍ने एन्फाले महिला खेलाडीको प्रशिक्षण या अन्य कुनै विषयमा निर्णय नगर्दा समस्या भएको एन्फाप्रति महिला फुटबल खेलाडीहरुको दुखेसो छ ।

नेपाली महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीलाई पुरुष फुटबल टोली प्रशिक्षणका लागि फर्कने थाहा पाएपछि नै महिला टोलीका लागि पनि एन्फाले केही निर्णय गर्छ भन्ने आशा थियो । तर त्यसो हुन सकेन । लामो समय घरमा बसेका महिला फुटबल टोलीका खेलाडीले पनि मैदान फर्कने आशा निराशामा बदलिएको छ । नत एन्फाले महिला टोलीलाई मैदान फर्कने विषयमा हालसम्म कुनै निर्णय गरेको छ । नत तयारी नै ।

प्रकाशित मिति: : 2020-10-30 16:50:00

प्रतिकृया दिनुहोस्