खुलामञ्चमा भोकाहरूको प्रश्न : सरकार ! हामी भोकै मरौँ ?

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

दिनेश गौतम

खुलामञ्चमा खाना खान पुगेका सिन्धुपाल्चोक ठोकर्पाका ६२ वर्षीय रेशम बुढाथोकी मंगलबार बिहान आक्रोशित देखिन्थे । शारीरक रूपमा अशक्त उनी खाना खान ह्वीलचियरमै खुलामञ्च पुग्थे । तर, काठमाडाैं महानगरले निःशुल्क खाना वितरण राेक्न खाेजेपछि उनले आक्राेश पाेखे, ‘प्रधानमन्त्रीले खान नपाएर कोही पनि जनता भोकै मर्दैनन् भनेका थिए । आज हेर्नुहोस् त यहाँ खान नपाएर मान्छे छटपटिएका छन् । खुलामञ्चमा खान नखुवाउनु रे ! सरकारले हामीलाई भोकभोकै मार्न खोजेको हो ?’  

काम छैन, पैसा छैन । बुढाथोकी कोठामा पकाउन सक्दैनन् । एक महिना भयो, उनी खुलामञ्चमै आएर खान थालेको । ‘कतिको रोजगार गुमेको छ । भोकले मान्छे मर्न थालेका छन् । खाना बन्द गरेर सरकारले भोकै मार्न खोजेको हो ?,’ उनकाे प्रश्न छ ।  

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यप्रति उनले असन्तुष्टि पाेखे । ‘कस्ताे मेयरसा'ब, खाना खुवाउन रोक्ने रे !’ भन्दै बुढाथोकीले ह्वीलचियर अगाडि बढाए । 

बर्दियाका कुमार केसी भित्तामा आड लगाएर खाना खाँदै थिए । ‘अब भोलिदेखि त यो पनि नपाउने हो कि,’ उनी चिन्तित थिए । घर बनाउने कामका लागि उनी काठमाडौं आएका रहेछन् ।

लकडाउन हुनुअगाडि घर बनाउन ठेकेदारले ल्याएका उनी यतै अलपत्र परे । ‘अहिले ठेकेदार पनि छैनन्, काम पनि छैन । बिहान बेलुका यहीँ खाना खान्छु,’ दु:खेसो पोख्दै उनले भने, ‘अब भोकै मर्नुको विकल्प छैन ।’

प्रकाशित मिति: : 2020-11-03 20:20:00

प्रतिकृया दिनुहोस्