इटालीमा कोरोना बढेपछि भोलिदेखि सरकारले नयाँ नियम लागु गर्ने

इटालीको चारवटा क्षेत्र कालाब्रिया, लोम्बार्डी, पिडमोन्ट र भिला डे’ओस्तालाई सरकारले ‘रेड जोन’ घोषित गरेको छ। 

कोरोनाको बढ्दो संक्रमणका कारण यी क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रधानमन्त्री ग्युसेप कोन्टेले बुधबार घोषणा गरेका छन्। 

यस्तै, पुग्लिया र सिसिली आइसल्याडलाई ‘ओरेन्ज’ र अन्य शहरलाई ‘यलो जोन’ मा विभाजन गरिएको छ। 

प्रधानमन्त्री कोन्टेले देशका विभिन्न शहरलाई विभाजन गर्नुको कारण जनतालाई कोरोना बारे सुसुचित गराउने अभिप्राय रहेको बताएका छन्।

 ‘यलो जोन’ मा रहेका शहरका जनताहरूले स्थानीय समयअनुसार राती १० देखि बिहान ५ बजेसम्म घरमा बसोबास गर्नुपर्ने छ। 

यी क्षेत्रमा सार्वजनिक यातायातमा ५० प्रतिशत यात्रु मात्र राख्न पाइने छ। संग्रहालय र प्रदर्शनी सेन्टरहरू बन्द हुनेछन्। 

स्कुल जाँदा ६ वर्षभन्दा माथिको उमेर समूहका विधार्थीले अनिवार्य मास्क लगाउनु पर्नेछ। रेस्टुरान्ट र बार ६ बजे साँझसम्म मात्र खुला हुनेछ। यसपछि डिलिभरी सर्भिस मात्र गर्न पाउने छन्। 

‘ओरेन्ज जोन’ मा परेका शहरका जनताले आफ्नो शहर र क्षेत्रभन्दा बाहिर काम तथा स्वास्थ्यका लागि मात्र हिँडडुलल गर्न पाउने छन्। बार र रेस्टुरान्टले होम–डिलिभरी मात्र गर्न पाउने छन्। 

‘रेड जोन’ मा परेका शहरका जनताले काम र स्वास्थ्यका समस्या बाहेक अन्य कारण घरबाट बाहिर निस्किन पाउने छैनन्। अति आवश्यक पसलबाहेक अन्य सबै सुविधा बन्द हुनेछ। 

यो नयाँ कानुन नोभेम्बर ६ देखि लागु भएर ३ डिसेम्बरसम्म यथावत रहने छ।

प्रकाशित मिति: : 2020-11-05 07:23:00

प्रतिकृया दिनुहोस्