सांसद ठेक्का लिने, जनता धुलोमा हिड्ने!

प्रतिनिधि सभा सांसद बहादुरसिंह लामाले ठेक्का लिएको नाग्म–गमगढी राजमार्ग निर्माण कार्य पाँच वर्षदेखि अलपत्र परेको छ। 

सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीले पाँच वर्ष अघि ठेक्का लिएको उक्त सडक निर्माण कार्य लथालिङ्ग भएको हो। 

नुवाकोटका लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित समानुपातिक सांसद हुन्। 

नाग्म–गमगडी राजमार्गको९३ किलोमिटरमध्ये शुरुको १३ किलोमिटर स्तरउन्नतिको काम लामाकै निर्माण फर्मबाट थालिएको थियो। तर, ठेक्का सम्झौता अवधिमा काम नहुँदा सडक निर्माण अलपत्र परेको छ।

सडक निर्माणमा ढिलाई हुँदा ओहोरदोहोर गर्ने नागरिकले सास्ती भोगिरहेका छन्। कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा र सिंजा सभ्यताको प्रवेशद्वारकै सडक लथालिङ्ग भएपछि आगन्तुकहरुलाई समेत बाटोको कारण कहिले नआउने बनाएको स्थानीय बताउँछन्।

सडक डिभिजन डिभिजन कार्यालय जुम्लाका कायममुकायम प्रमुख एवम् डिभिजन इञ्जिनियर लीलाबहादुर भण्डारीका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा चौडा, ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेशिनरी पर्खालको काम गर्नेगरी ठेक्का लिएको थियो। तर हालसम्म ६ किलोमिटर सडक अलपत्र अवस्थामै छ। 

‘जिम्मा लिएको पाँच वर्षसम्म काम भएको छैन,’ उनले भने,‘तिहार अगावै काम नथाले सांसद लामाको फर्मलाई कालो सूचीमा राखिनेछ।’

पाँच वर्ष अघिदेखि नै काम थाले जस्तो गरे पनि सडक तयार नभएपछि राजमार्ग सिंजाका स्थानीय र जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले उक्त राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतिबारे डिभिजनमा सडक पुगेर जानकारी लिएका थिए। 

डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो। चौतर्फी दबाब आएपछि कार्यालयले सांसद लामाको फर्मलाई कालो सूचीम राख्ने र पत्रिकामा नाम छाप्ने चेतावनी दिएपछि अहिले सांसद लामा संलग्न सो संयुक्त उपक्रम कम्पनीले काम अघि बढाउने प्रतिवद्धता जनाएको अधिकारीहरुले जानकारी दिएका छन्।

No description available.

सडक बनाउनेगरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको ठेक्का सम्झौता २०७२ माघ ८ गते भएको थियो भने निर्माण अवधि २०७५ पुष ७ गतेसम्मका लागि तोकिएको थियो। दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि थपिए पनि निर्माण कार्यमा कुनै चासो दिइएको छैन।

लामाको फर्मले सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालयले जनाएको छ।

सिंजालीको अगुवाइ गरिरहेका सिंजाबासी पूर्ण धितालले दिएको जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए। 

‘नाग्म सिजा गमगढी सडक निर्माण कार्य  सिघ्र सम्पन्न हुनु पर्ने विषयमा सिंजाली जनता आन्दोलित भइरहेको छन्,’ उनले भने,‘सडक डिभिजन कार्यालयले काम गरेर देखाउने वचन दिएको छ। हामी काम गराएरै छोड्ने अभियानमा छौं।’

सांसदले ठेक्का लिने र जनता हिलो, धुलोमा हिड्नुपर्ने अवस्था रहेको सडक चाँडो बनाउनको लागि डिभिजन कार्यालयले काम नगरि भागेका ठेकेदार बहादुरसिंह लामालाई तुरुन्तै सूचना दिने र काम गराउने। अटेर गरेमा कारबाही प्रक्रिया अगाडि बढाउने। 

नाग्म देखि माथि बाँकी रहेको ५ किलोमिटर बाटो पूरा गराउने। ठेकेदार कृष्ण खड्काबाट पेटि लिएका राजुसिंह कठायत र तारासिंह कठायतले काम गर्न बाँकि ५ किलोमिटर बाटो निर्माणकार्य अबिलम्ब पूरा गराउने, यो वर्षमा ग्राविलिङको काम सकेर आउदो वर्ष पिजको काम सुरु गर्ने लगायतका प्रतिबद्धता गरेको छ।

प्रकाशित मिति: : 2020-11-09 09:36:00

प्रतिकृया दिनुहोस्