चिरिञ्जिवीलाई कोरोना संक्रमण

तेलुगु मेगास्टार चिरञ्जिवी कोरोनाबाट संक्रमित भएका छन्। ६५ वर्षीय चिरञ्जिवीले यसको जानकारी दिँदै भने, ‘मलाई अन्य केही समयस्या छैन। घरमा क्वारेन्टाइनमा बसेको छु। ५ दिनयता मसँग सम्पर्कमा बस्नुहुने साथीहरूले कृपया कोभिड टेस्ट गर्नुहोला।’

चिरञ्जिवी आफ्नो अघिल्लो फिल्म ‘आचार्य’ को सुटिङमा व्यस्त थिए। सेटमा जानुअघि उनले कोरोना परीक्षण गराएका थिए। जसको रिपोर्ट पोजेटिभ आएको हो। ‘आचार्य’ को सुटिङ कोरोनाका कारण गत मार्चदेखि रोकिएको थियो। 

यो फिल्ममा चिरिञ्जिवीसँग काजोल अग्रवालले पनि अभिनय गर्दैछिन्। फिल्मको निर्माता चिरिञ्जिवीको छोरा राम चरण हुन भने निर्देशन कोराताला शिवाले गर्दैछन्। 
 
चिरञ्जिवीले ७ नोभेम्बरमा हैदराबादको प्रगति मैदानमा तेलङ्गानाका मुख्यमन्त्री के चन्द्रशेखर रावलाई भेटेका थिए। यतिबेला उनले मास्क लगाएका थिएनन। चिरञ्जिवीसँग दक्षिण भारतका अर्का सुपरस्टार नागार्जुन पनि थिए। उनले पनि मास्क लगाएका थिएनन्। 

चिरञ्जिवीको वास्तविक नाम केनिडेला शिवशंकरा वारा प्रसाद हो। उनलाई १९८७ मा अस्कर अवार्ड कार्यक्रममा निम्तो गरिएको थियो। चिरञ्जिवी भारतीय सिनेमाका एक मात्र यस्ता अभिनेता हुन्, जसको सिंगल, डबल र ट्रिपल रोलको फिल्म सय दिनसम्म सिनेमा हलमा चलेको थियो। 

उनी आफ्नो वेभसाइट खोल्ने पहिलो भारतीय स्टार हुन्। उनले अभिनय गरेको २० वटा हिट फिल्ममा काम गरेका छन्, जसले सय दिनसम्म बक्सअफिसमा कारोबार गरेको थियो।

प्रकाशित मिति: : 2020-11-09 17:03:00

प्रतिकृया दिनुहोस्