लिपुलेक–व्यासबाट खलंगा झर्न भारतले अनुमति दिएन, स्वदेशकाे बाटाे खुलेन

शिलापत्र

काठमाडाैं

चाैंरी, घोडा-खच्चड र झुपुपालक हुन्, निरञ्जन तिङ्करी । चीन र भारतसँग सीमा जोडिएको तिङ्करका यी वृद्ध आफ्ना पशुचौपायासहित कहिले सदरमुकाम खलंगा झर्न पाइएला भन्ने चिन्तामा छन् । ६८ वर्षे जोवनमा अस्थायी बसाइ सर्न अहिलेको जस्तो अन्यौल कहिल्यै भएन, तिङ्करीलाई । 

तिङ्करीजस्तै दार्चुलाको उत्तरी भेगका करिब चार सय जना जाडो बढेसँगै बेसी झर्ने साइत कुरेर बसिरहेका छन् । छाङरु र तिङ्कर गाउँ वर्षेनी जाडो छल्न सदुरमुकाम अस्थायी बसाई सर्छ । भारी हिमपात हुने हुँदा उनीहरु ६ महिना सदरमुकाम ओर्लन्छन्, चौपायासहित भारी कसेर । कात्तिकको मध्यदेखि मंसिरको पहिलो हप्तासम्म दुवै गाउँ बसाई झरिसक्छ । ६ महिना उपल्लो क्षेत्र र ६ महिना तल्लो क्षेत्रमा बस्छन् यहाँका नागरिक । यी दुई गाउँ व्यास गाउँपालिकाको १ नम्बर वडामा पर्छ ।  

कहिल्यै नबिथोलिएको यो नियमितता यसपाली यताउता भएको छ । यसअघि गत चैत/वैशाखमा खलंगादेखि व्यास क्षेत्र उक्लने तालिका बिग्रिएको थियो भने अहिले उपल्लो थलोदेखि तल्लो थलो झर्ने । आफ्नो भूमिबाट तल झर्ने बाटो दुरुस्त नहुनु र विगतमा उनीहरुले निर्बाध प्रयोग गर्दै आईरहेको छिमेकी मुलुक भारतीय मार्ग कोभिड–१९ (कोरोना) संक्रमणका कारण बन्द हुनु ।

‘कोरोना भाईरसकै कारण हो वा अन्य कारणले उनीहरुले नाका खोलेका छैनन्,’ वडाअध्यक्ष शोकसिंह बोहरा भन्छन्, ‘काठमाडौंमा सीमा विवाद चर्किँदा व्यासबासीलाई भने जहिल्यै बाटोको समस्या हुन्छ ।’  

प्रकाशित मिति: : 2020-11-12 17:20:00

प्रतिकृया दिनुहोस्