३ दिनमा ७ महादेशको यात्रा गर्ने युएईकी कीर्तिमानी महिला

युनाइटेड अरब इमिरेट्स (युएई) कि डा. ख्वाला अलरोमेथीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमान बनाएपछि उनको यहाँ वाहवाही भइरहेको छ। 
  
अलरोमेथीले ३ दिन, १४ घण्टा, ४६ मिनेट र ४८ सेकेण्डमा ७ महादेशको यात्रा गर्दै यो कीर्तिमान स्थापित गरेकी हुन्। 

उनको कीर्तिमानको विषयमा अरबको प्रायः सबै पत्रपत्रिकाले प्राथमिकता दिएर लेखेका छन्। उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको दिन अर्थात १८ नोभेम्बरमा यो पुरस्कारबाट सम्मानित गरिएको हो। 

No description available.

यसअघि यो कीर्तिमान अमेरिकी जोडी केसी स्टेवार्ट र जुली बेरीको नाममा थियो। उनीहरूले सन् २०१७ को डिसेम्बरमा ३ दिन २० घण्टा १९ मिनेटमा सात वटा महादेशको यात्रा गरेका थिए। 

 डा. अलरोमेथी महिलाहरूले मौका पाएको खण्डमा जे पनि गर्न सक्ने आफ्नो अभियानबाट पुष्टि भएको बताउँछिन्। उनले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा आफ्नो सफलता देश र समाजका लागि समर्पीत गरेको बताइन्।

 ‘मेरो कामबाट प्रेरित भएर अरू पनि यात्रामा निस्किउन भन्ने चाहन्छु,’ उनले भनेकी छिन्। 

ख्वालाले १३ फेब्रुअरीमा यात्रा पुरा गरिसकेकी थिइन। तर, कोरोना महामारीका कारण उनको सम्मान हुन सकेको थिएन। उनले विश्वका अन्य देशहरूको संस्कृति बुझ्न पनि आफूले अभियान सुरु गरेको बताइन्।

No description available.

 ‘म चाहन्थेँ– विश्वका अन्य देशका नागरिकले जस्तै अरब मुलुकका मानिसले पनि कीर्तिमान बनाएको हेर्न। सफल भएकोमा खुसी छु,’ उनले पत्रपत्रिकामा प्रतिक्रिया दिएकी छिन्। 

हिजाब लगाएर उनले खिचेका अनगिन्ति फोटोहरू अहिले सोसल मिडियामा पनि भाइरल बनेका छन्। तीन दिनमा यति लामो यात्रा गर्न धैर्यताको आवश्यकता पर्ने उनको भनाई छ।

 ‘घण्टौंसम्म प्लेनलाई कुर्नु र लामो समय प्लेनमा यात्रा गर्नु वास्तवमै सजिलो काम होइन,’ उनले भनेकी छिन्।

प्रकाशित मिति: : 2020-11-20 18:57:00

प्रतिकृया दिनुहोस्