मेलम्ची खानेपानी आयोजना–१

राजधानीकाे संरचनाले थेगेन मेलम्चीकाे खानेपानी

BreaknLinks
BreaknLinks

पछिल्लाे समय काठमाडाैंका विभिन्न स्थानका सडकखण्डमा पाइप फुटेर पानी निस्किने समस्या देखिन थालेको छ।

मसिंर २३ गतेदेखि राजधानीमा मेलम्चीको पानी वितरण सुरू भएसँगै उपत्यकाका कैयौँ सडक तथा फुटपाथमा पानी जलमग्न थालकाे हाे। 

पाइप फुटेर ठाउँ–ठाउँमा भएको चुहावटले सडकमा हिँड्न समेत असहज भएकाे छ। करिब दुई वर्षपछि आएको मेलम्चीको पानी हाल राजधानीमा दैनिक १७ करोड लिटर वितरण भइरहेको छ।

वर्षोंदेखि पर्खिएको मेलम्चीलाई व्यवस्थित नबनाएकाे कारण फुटपाथमा पानी जलमग्न भएकाे स्थानीयहरुको भनाइ छ। पानीकाे चुहावटले गर्दा बाटाे हिँड्न समेत असहज भएकाे जनगुनासाे पनि आइरहेको छ।

केही दिनअघि नयाँ बानेश्वरको पार्किङ क्षेत्रमा पाइप फुटेर मेलम्चीको पानी सडकभरि बग्यो। पाइप फुटेर लगातार दुई दिनसम्म बगेको पानीले सडक हिलाम्य भयो। बाटैभरि पानी जमेकाे कारण त्यहाँका पसले मात्र हाेइन, पैदल यात्रुलाई समेत असर पर्याे।

सुमन गुरूङको नयाँ बानेश्वरको पार्क आउनु दैनिकी बनेको छ। उनी दिनहुँ बिहान मर्निङ वाक’ गर्न शंखमूलदेखि बानेश्वर पार्क आउने गर्छन्। तर पछिल्लो समय उनलाई बानेश्वरको बाटो हिँड्न मनै छैन। जसको कारण बनेको छ, पानीको चुहावट।

‘जमिनबाट पानी निस्किएर सडक नै खोला बनेको छ, यस्तो बाटोबाट कसरी हिँड्नु?’ पानी भएको सडक देखाउँदै उनले भने, ‘यसरी त हामी पैदल यात्रुलाई असहज हुन्छ नि।’

त्यसैगरी बानेश्वरमा कपडाकाे व्यापार गर्दै आइरहेकी सिता चाैलागाईं पनि पानीकाे चुहावटले अप्ठ्याराेमा पारेकाे बताउँछिन्। आफ्नै पसल अगाडि पानी जलमग्न हुँदा पसल आउनेहरू पनि तर्केर गएकाे उनले बताइन्।

‘मेरो पसल अगाडि पानी जम्न थालेपछि ग्राहक नै आएका छैनन्’, उनले भनिन्, ‘आउन लागेका ग्राहकहरु पनि पानी देखेर भड्किएर जानू हुन्छ।’

पानीको समस्याबारे जानकारी गराउँदा कसैले चासो नदेखाएको उनको गुनासो छ। ‘सोमबार बिहानदेखि नै पानीको बुलबुल देखिन थालेको थियो, सम्बन्धित व्यक्तिलाई सम्पर्क पनि गर्यौँ तर कसैले वास्तै गरेनन्’, उनले भनिन्।

समस्या सानो रहँदा नै समाधान गरे सहज हुने उनको बुझाई छ। ‘पानीको चुहावट सानो हुँदा मर्मतको लागि कोही आएनन्। अहिले पानी बढेर खोला बनिसक्दा चाहिँ मर्मत गर्न मिल्दैन भनेर फर्केर जान्छन्।’

पानी चुहावट भएर सडक भरिएपछि आफूले बाल्टिनमा पानी भर्दै फ्याँकेकाे उनले सुनाइन्।

‘मेलम्चीको पानी पिउन पाएपछि राजधानीवासी खुसी छन् तर पानी चुहावट भएर खेर गइरहेकाे छ’, सडकभरि बगिरहेको मेलम्चीको पानी देखाउँदै उनले थपिन्, ‘कसैले यही पानी पिउन पाएका छैनन् तर यहाँ भने मेलम्ची सडकमै बगिरहेको छ।’

मेलम्चीको पानीले बानेश्वरको सडक पखालिरहँदा रत्नराज्यकी रिना श्रेष्ठ पनि दुखी छिन्। 

‘हाम्रो घरमा मेलम्चीको पानी नआएर कस्तो दुख छ तर यता त सडकभरि नै मेलम्ची छ’, उनी भन्छिन्, ‘पानीको खडेरीको कारण कोही तिर्खाएका छन् तर यहाँ भने सडक भिजिरहेको छ।’

छिमेकीकाे घरमा मेलम्ची आइसकेपनि आफ्नै घरको धारामा मेलम्चीको पानी नआएको उनको गुनासो छ।

मेलम्चीको पानी ल्याएकाे सडकमा बगाउनको लागि हो?

वि.स २०४८ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी राजधानी ल्याउने घोषणा गरे। उनको भाषण सुनेपछि काकाकुल राजधानीवासी खुसी भए।

२०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले मेलम्चीको पानी काठमाडौं भित्र्यायाे। चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपको ढुङ्गे धाराबाट मेलम्ची पानीको उद्घाटन गरेसँगै राजधानीको विभिन्न स्थानमा मेलम्चीको पानी पुग्यो।  पानीको हाहाकार झेलिरहेका उपत्यकावासीको मुहारमा खुसी छायो। 

त्यही खुसीमा रमाइरहेकी थिइन्, पाटनकी सुष्मा मगर। पानीको खडेरी लागेको पाटनमा पानी आएपछि उनी दंग परिन्। दिनकै पानी किन्नका लागि तीन सय रुपैयाँ खर्चिने उनी घरकै धारामा पानी पाएर खुसी भइन्। तर उनको खुसी चार महिनापनि टिकेन।

मेलम्चीको पानीले दिएको खुसी सिन्धुपाल्चोकमा गएकाे बाढीले खोसेर लग्यो।

झण्डै दुई वर्षपछि मेलम्चीकाे पानी फेरि राजधानी आयो। मेलम्चीकाे पानी काठमाडाैं आएसँगै उनी पुन: खुसी भइन्। घरकाे धारामा मेलम्चीकाे पानी बग्ने कुरामा उनी विश्वस्त थिइन्। तर उनकाे आश फेरि टुट्याे, जब उनकाे घरकाे धारामा मेलम्चीकाे पानी बगेन।

‘मेलम्चीको पानी आउँछ भनेर खुसी भएकी थिएँ तर धारामा पानी आउन’, उनले भनिन्, ‘छिमेकीहरुको घरमा पानी आइरहेको छ रे, हाम्रोमा चाहिँ मेलम्चीको पानी छैन।’

सुष्माझैँ मेलम्चीको पानीको लागि तड्पिरहेकी छिन्, पाटन ग्वार्कोकी सरिता श्रेष्ठ। उनी सधैँ किनेरै पानी पिउने गर्छिन्। पिउने पानी मात्र होइन, उनले घरायसी कामको लागि पनि पानी किन्ने गरेकी छिन्।

दिनकै किनेको पानी चलाएर दिक्दार बनेकी उनी मेलम्ची पानीको पर्खाइमा थिइन्। पिउने पानी र घरायसी कामको लागि पाटनकाे ढुङ्गे धारासमेत धाउने गरेकी सरिता मेलम्चीको पानी राजधानी आएर खुसी भइन्।

२०७७ सालमा राजधानी भित्रिएको मेलम्चीको पानी पिउन नपाएपनि यो पटक भने पानी आफ्नै घरको धारामा रसाउँछ भनेर उनी ढुक्क भइन्। तर पानी वितरण गरेको साता दिनसम्म पनि मेलम्ची घरमा नआउँदा उनी दुखी भइन्।

‘यता वरपर सबैको घरमा मेलम्ची बगिरहेको छ, तर हाम्रै घरमा किन आएन मेलम्चीको पानी?’ उनी भन्छिन्, ‘मेलम्चीको पानी ल्याउनको लागि पैसासमेत दिइसकेको छ, तर पनि अझै आएन हाम्रो घरको धारामा मेलम्चीको पानी।’

मेलम्चीको पानी आवश्यक पर्नेहरुको घरमा नगएर सडकभरि बगिरहेकोमा आपत्ति जनाउँदै उनी बिएल नेपाली सेवासंग गुनासो पोख्दै प्रश्न गर्छिन्, ‘हामीलाई मेलम्ची खानेपानीको आवश्यकता छ, खोई हाम्रो धारामा मेलम्चीको पानी आएको? के मेलम्चीको पानी सडकमा बगाउनको लागि राजधभानी ल्याएको हो?’

घर-घरमा पुग्नुपर्ने मेलम्चीको पानी सडकमा बगिरहेको कारण आफूलाई दुख लागेकाे उनी बताउँछिन्। ‘दुख गरेर राजधानी ल्याएको मेलम्ची सडकमा बगिरहँदा समेत किन कसैको ध्यान गएको छैन?’ उनले भनिन्, ‘के हामीले चाहिँ नपाउने होर मेलम्चीको पानी?’

घरमा आवश्यकता पर्ने पानी ढुङ्गे धाराबाट ल्याउने गरेकाे तर अहिले त्यही धारा पनि सुकेकाेले पानीकाे दुख थपिएकाे उनले बताइन्।

मर्मत कार्य भइरहेकाे छ : केयुकेएल

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुमलटार, मीनभवन, अनामनगर, बाँसबारी, महाँकालचौर, महाराजगन्ज र बालाजुको पानीपोखरीबाट पानी वितरण गरिरहेको छ।

तर मेलम्चीको पानी वितरणसँगै काठमाडौंका न्युरोड, सोह्रखुट्टे, नरदेवी, पकनाजोल, लाजिम्पाट, लैनचौर, रत्नपार्क, अनामनगर, बानेश्वर, थापागाउँ, सिंहदरबार तथा ललितपुरका सातदोबाटो, लगनखेल, कुमारीपाटी, एकान्तकुना, पुल्चोक, जाउलाखेल र गौशलालगायत सडकखण्डमा पानी चुहावट भएको छ।

मेलम्चीकाे पानी वितरण गर्दा ठाउँ–ठाउँमा चुहावट भएसँगै मर्मतकाे कार्य पनि भइरहेकाे केयुकेएलले जनाएकाे छ।

पुरानै वितरण प्रणालीबाट मेलम्चीको पानी छाडेको कारण पाइप फुट्ने जस्तो समस्या देखा परेको केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले बताए।

पुरानो नेटवर्कबाटै पानी वितरण गर्दा चुहावट भएको बताउँदै उनी भन्छन्, ‘पाइपबाट चुहावट हुनु स्वाभाविक नै हो। पुरानो वितरण प्रणालीमै मेलम्चीको पानी थपिँदा प्रेसर बढ्यो। जसकारण मेलम्चीको पानी चुहावट हुन थाल्यो।’

मेलम्चीको पानी चुहावट भएको ठाउँमा आफूहरूले मर्मतको कार्य पनि तीव्र रूपमा गरिरहेको उनले सुनाए। ‘हामीले चुहावट भएकाे ठाउँमा मर्मतकाे कार्य पनि गर्दै गइरहेकाे छाैँ। हालसम्म ९० भन्दा बढी स्थानमा मर्मतकाे काम भइसकेकाे छ।’

आफूहरुले भ्याएसम्मको कामलाई छरिताेसँग गरेकाे उनकाे दाबी छ। ‘हामीले सर्वसाधारणलाई दुख नपराेस् भनेर जति सक्दो चाडो काम गरिरहेका छाैँ, तर गुठी संस्थाको काम गर्न भने समय लाग्छ’, उनले भने, ‘यदि पानी चुहावट गुठीकाे जग्गामा भइरहेकाे छ भने त्यहाँ मर्मत गर्न समय लाग्छ। किनकि, त्यहाँकाे समस्या समाधान गर्न मान्छेहरूकाे स्वीकृति चाहिन्छ।’

हाल काठमाडाैंका विभिन्न स्थानमा पाइपको कारण पानी चुहावटकाे समस्या देखिएपनि साउनसम्म समाधान हुने उनले बताए।

चुहावटको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि नयाँ पाइप राख्नुपर्ने उनकाे बुझाइ छ। उनका अनुसार साउनभित्र नयाँ पाइपबाट पानी आइसक्नेछ।

राजधानीवासीहरु मेलम्चीको पानी पाएर खुसी भएको उनको विश्वास छ। ‘जसले मेलम्चीको पानी पाउनुभएको छ, उहाँ खुसी हुनुहुन्छ। किनकि, उहाँहरुले सफा पानी पिइरहनु भएको छ’ उनी भन्छन्, ‘हामीले राजधानीवासीहरुका लागि पानी शुद्ध गरेर पठाइरहेका छौँ।’

प्रकाशित मिति: : 2022-12-29 21:30:00

प्रतिकृया दिनुहोस्