पर्यटकले भरिन थाल्यो ‘छिल्लीकोट’

दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। 

पन्ध्रौँ/स्रोह शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताए। 

'अहिले बेलझुण्डी र सङ्ग्राम ब्यारेक हुँदै दुई सडक प्रयोग गरेर पर्यटक आउने गर्छन्, त्यहाँबाट सात किलोमिटर हिँडेपछि छिल्लीकोट पुगिन्छ' उनले भने , 'अर्को छिल्लीकोट पुग्ने पर्यटनमार्ग अहिले कालोपत्र भइरहेको छ, त्यो सडक कालोपत्र भए झनै थामिनसक्नु भीड हुने देखिन्छ, अहिले पनि छिल्लीकोट आउनेको निकै भीड लाग्ने गरेको छ।' अहिले पनि कहिलेकाँकी दैनिक एक हजार ५०० सम्म पर्यटकले अवलोकन गर्ने गरेको उनको भनाइ छ। 

अहिले छिल्लीकोटमा निर्माण भएको दृश्यावलोकन स्तम्भ, कालिका–मालिका मन्दिर, राजा बसेको दरबारको भग्नावशेष, छिल्लीकोटबाट देखिने सिस्नेलगायतका हिमाल, दाङका फाँट, सल्यान, रोल्पा, रुकुमका पहाडी भेग, नेपालको एक मात्र ठाउँ छिल्लीकोटमा पाइने मल्लागिरीलगायत अवलोकन गर्न त्यहाँ पर्यटक पुग्नेछ गर्छन्। 

अहिले छिल्लीकोटले राज गरेको ठाउँमा एउटा मन्दिर निर्माण भइरहेको छ भने अर्को कालिका–मालिकादेवी भगवतीको मन्दिर निर्माण भइरहेको छ। मन्दिर निर्माण करिब अन्तिमचरणमा पुगेको उनको भनाइ छ।  मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा मन्दिर निर्माणसँगै सिँढी निर्माण भएको हो। मन्दिर निर्माण भए पनि अहिले पूजारी नहुँदा पूजापाठ भने सहज नभएको उनको भनाइ छ।  

अहिले फाटफुट रुपमा स्थानीय खाना पाइने पसल पनि सञ्चालन भइरहेका छन्। घरवास  सञ्चालनको तयारी पनि भइरहेको छ। 'हामीले अहिले  घरवास सञ्चालनका लागि तयारी पनि गरेका छौंँ, घरवास पनि दर्ता गरिसकेका छौं', दृश्यावलोकन स्तम्भ निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवीर पुनले भने, 'अहिले बजारबाट स्थानीय खाना खोज्दै पनि अवलोकनर्ता आउने गर्छन्।'

अहिले त्यहाँ मादल बज्ने गुफा पनि भेटिएको छ। त्यो गुफा पनि अवलोकन गर्ने केन्द्रका रुपमा विकास भएको छ। मन्दिरमा धेरै मानिस भेला भएका बेला हावा फाल्ने गुफा पनि छ। त्यो पनि एउटा अवलोकन केन्द्रका रुपमा विकास भएको स्थानीयवासी ओमप्रकाश पुनले बताए। अहिले त्यहाँ केबुलकार निर्माण पनि गरिने भएको छ। त्यसका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2020-12-06 12:03:00

प्रतिकृया दिनुहोस्