अभिनेता सुशान्तको मुद्धामा सीबीआईविरूद्ध अदालतमा उजुरी

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको छानवीन गरिरहेको केन्द्रिय जाँच एजेन्सी (सीबीआई) ले ४ महिना बितिसक्दा पनि कुनै रिपोर्ट सार्वजनिक गरेको छैन।

सीबीआईको काम गर्ने तरिकालाई लिएर सर्वोच्च अदालतमा एउटा उजुरी परेको छ। सुशान्तको निधन १४ जुनमा मुम्बईस्थित बान्द्राको एउटा फ्लाटमा भएको थियो।

अधिवक्ता विनित ढांडाले ४ महिना बितिसक्दा पनि कुनै सूचना बाहिर नआएकोमा आश्चर्य जनाउँदै उजुरी दायर गरेका हुन्।

उनले कुनै पनि एजेन्सीले जाँच गर्दा दुई महिनाको समय दिनुपर्ने र रिपोर्ट फाइल गर्नुपर्ने एउटा नियम बनाउन अदालतसँग आग्रह पनि गरेका छन्।

अदालतले १९ अगस्ट २०२० मा सीबीआईलाई जाँचको आदेश दिएको थियो। तर, लगभग ४ महिना पूरा भइसक्दा पनि उसले कुनै रिपोर्ट बुझाउन सकेको छैन।

सुशान्तको न्यायका लागि देशभित्रबाट मात्र होइन, विदेशबाट समेत आवाज उठेको थियो। उनको समर्थक अहिले पनि सोसल मिडियामा निकै सक्रिय छन्।

प्रकाशित मिति: : 2020-12-08 11:40:00

प्रतिकृया दिनुहोस्