नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा बादल परिवार: बाको इसारामा छोराको डिल, आमा बुझ्थिन् करोडौंका बिटा

कमल प्रभात

काठमाडौं

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपन्चमा राज्यका उच्च ओहोदाका व्यक्तिको संलग्नता छताछुल्ल छ। पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि मन्त्रालयका सचिवसम्मको संलग्नताले ‘भुटानी शरणार्थी प्रकरण’मा थप रहस्यहरु खुल्दै गएको छ।

नेपालीको गरिबीको फाइदा उठाउँदै राज्यका उच्च ओहोदाका व्यक्तिले अकुत सम्पत्ति कुम्ल्याउने प्रपन्चको भण्डाफोर भइरहेको छ। जसमा नेकपा (एमाले)का निलम्बित सचिव तथा पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको ‘ग्राइण्ड डिजाइन’ देखिन्छ।

रायमाझीको योजनामा तयार भएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा उच्च पदस्थ नेताका परिवार नै मरी–मरी लागेको रहस्यहरु खुल्दै गएको छ। राज्यको उच्च तहमा भएको फाइदा उठाउँदै ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा परिवार नै संलग्न भएकाहरुमा पूर्वउपप्रधानमन्त्री रायमाझी, एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई छन्।

यो प्रकरणमा रोचक त के छ भने पूर्वगृहमन्त्री बादल प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएपनि गृहमन्त्री हुँदा आपराधिक गतिविधिमा संलग्न रहेको देखिन्छ। आफू गृहमन्त्री रहेका बेला ठूलो आपराधिक गतिविधि भइरहँदा पनि बादलले देखेर पनि नदेखेको जस्तो गरेर अपराधलाई सघाएको प्रहरीकाे प्रतिवेदनमा देखिन्छ।


यी तथ्य जसले टोपबहादुर नक्कली शरणार्थी प्रकरणको नाइके भएको पुष्टि गर्छन्


त्यति मात्रै नभएर उनले आफ्नो भागको रकम बुझ्न छोरा प्रतीक थापालाई ‘डिल’ गर्न र श्रीमती अर्थात् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई प्रयोग गरेको देखिन्छ। साथमा यो प्रकरणमा जोडिएका उच्च तहका व्यक्ति टोपबहादुरले आफ्ना छोरा सन्दीप रायमाझी र इन्द्रजित राईले पनि छोरा निरज राईलाई रकम बुझ्न प्रयोग गरेको देखिएको छ। यीमध्ये ‘छोरा ग्याङ’का सन्दीप पक्राउ परेका छन् भने प्रतीक र निरज पक्राउ पुर्जी जारी भएपछि फरार छन्।

यता ‘बाउ ग्याङ’का टोपबहादुर रायमाझी र इन्द्रजित राई पक्राउ परिसकेका छन्। तर प्रहरीले ‘बाउ ग्याङ’ श्रीमान–श्रीमती बादल र नैनकलालाई सामान्य सोधपुछसमेत गरेको छैन। यो प्रकरणमा बादल दम्पती मौन छन्। विवादित प्रसंगमा गजधम्म परेर बस्ने ‘बादल कला’ यो पटक घरभित्रै सीमित भएको छ।

गृहमन्त्री हुँदा अपराधमा संलग्न बादलको कर्तुतले अहिले देश नै हलचल भएको छ। बादल गृहमन्त्री रहेकै बेला वि. सं. २०७६ जेठ ३० गते भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्या समाधानको लागि भन्दै कार्यदल गठन भएको थियो। उक्त कार्यदल गिरोहकै इसारामा बनेको थियो। पूर्वगृहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलमा विज्ञका रुपमा गणेशबहादुर केसीलाई सदस्य बनाइएको थियो। उनलाई पक्राउ परेका ललितपुरका सानु भण्डारीको रोजाइमा कार्यदलमा राखिएको थियो। सानु भण्डारी पूर्वउपप्रधानमन्त्री टोपबहादुरका नजिकका व्यक्ति हुन्।

यस्तै बादलका सुरक्षा सल्लाहकार राईले यो योजनाको काम गर्न गृह मन्त्रालयमा नै अड्डा जमाएको तथ्य खुलेको छ। बादल गृहमन्त्री भएकै समयमा राई र टोपबहादुरले गिरोहको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गरी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएका थिए।

शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको बयानअनुसार गृह मन्त्रालयमै पैसाको बाँडफाँटदेखि काम सल्टाउनको लागि मन्त्री, कर्मचारी र बिचौलियासँग मोलमोलाइ हुन्थ्यो। यसै प्रकरणमा पक्राउ परेका केशव दुलालले गिरोहका अर्का नाइके सानु भण्डारीमार्फत् गृह मन्त्रालयमै भेटेर तत्कालीन गृहसचिव तथा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एक करोड रकम दिएको बयानमा उल्लेख गरेका छन्। त्यति मात्र नभई २०७७ पुस १६ गते गृह मन्त्रालयस्थित सचिवको कार्यालयमा नै गिरोहका सदस्यहरुबीच रकम भागबन्डाको विषयमा ठुलो लफडा भएको थियो। उक्त लफडा मिलाउन टोपबहादुरले सहयोग गरेको उनी आफैँले बयानमा भनेका छन्।


अमेरिकामा विगत १० वर्षमा १,३०६ नेपाली शरणार्थीलाई शरण


यति भइरहँदा पनि गृहमन्त्रीको कुर्सीमा रहेका बादलले थाहा पाएर पनि नपाएको जस्तो गरी ठगी र राज्यविरुद्धको अपराध गरे। बादलले गृह मन्त्रालयको कुर्सीमा बसेर मौन समर्थन मात्रै जनाएका छैनन्, त्यसबापत रकम असुल्नको लागि छोरा प्रतीक र श्रीमती नैनाकलालाई प्रयोग गरेका प्रमाणहरु बाहिरिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका गिरोहका नाइके केशवप्रसाद दुलालले बयानका क्रममा २०७६ साल असारमा बादल पत्नी नैनाकलालाई मन्त्री क्वाटरमै भेटेर एक करोड दिएको बताएका छन्।

उनले बयानमा भनेको छन्, ‘सानु भण्डारी र म नैनकलाका छोरा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का प्रमुख स्वकीय सचिव प्रतीक थापा मगरलाई नक्सालस्थित निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फको होटेलको १ तलामाथि प्रतीक थापालाई भेटेपछि नैनकला थापालाई प्रतीक थापा मगरले फोन गरी पैसा पाउनु भयो/भएन? भनि सोध्दा पैसा पाएको कुरा प्रतीक थापालाई भनेपछि मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनि जानकारी गराएका हुन्।’

त्यस्तै दुलालले नैनकलालाई बुझाएको उक्त एक करोडबाहेक बादल राष्ट्रियसभा सदस्य हुनुअघि छोरा प्रतीकलाई पुलचोकस्थित मन्त्री क्वाटरमै तीन करोड बुझाएको बताएका छन्। यसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलको परिवारले कुल ४ करोड बढी रकम असुलेको काठमाडौँ प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

‘प्रेम राईलाई साढे दुई करोड दिँदा भिडियो बनाएका थियौँ, त्यो भिडियो प्रहरीसँग छ’

यस प्रकरणमा प्रतीक थापामाथि पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्। तर, प्रहरी बादल र नैनकलासम्म पुग्न सकेको छैन। प्रहरीले यति ठुलो प्रकरणमा मुछिएका बादल दम्पतीलाई सामान्य सोधपुछसमेत नगर्नुलाई घटना नै तोडमाेड हुनेमा शंका गर्ने ठाउँ बनेको छ।

यता यो प्रकरणको अनुसन्धान चलिरहँदा बादल र नैनकला सर्वाजनिक रुपमा देखिएका छैनन्। यद्यपि, प्रहरीले यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने बताएको छ। त्यसबखतमा उनीहरु पनि कारबाहीको दायरामा आउन सक्ने सम्भावना भने बाँकी नै छ।

प्रकाशित मिति: : 2023-05-25 20:00:00

प्रतिकृया दिनुहोस्