गाउँमा दियालाे हुन्छियाे, न्या त त्याे पुनि नाइ

सुर्खेतकी इभान गिरी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ पढ्दैछिन्। 

जुम्लामा पढ्न सुरु गरेदेखि नै बिजुलीको समस्या भएपछि पढाइमा धेरै पटक बाधा खेप्नु पर्‍यो उनले।

‘ड्युटी फरक फरक समयमा हुन्छ। राति ड्युटीबाट फर्किएपछि बत्ती नहुँदा निकै समस्या खेप्नु परेको छ,’ उनले भनिन्, ‘कति पटक खाना नखाइ सुते। धेरै पल्ट गर्नुपर्ने काम नसकिएर क्लासमा गाली खानु पर्‍यो। यस्तो चलिरहेको छ।’

तिला गाउँपालिका जुम्लाकोटकी रिमा बुढा चन्दननाथ नगरपालिकाको रत्नचुडेश्वर माविमा कक्षा १२ मा अध्ययन गर्दैछिन्। खलंगा बजारको बसेरो छ। तर, बत्ती छैन। त्यसैको मारमा परेको दुखेसो बिएल नेपाली सेवासँग पोखिन्।

‘दिउँसो स्कुलमा जति पढ्यो पढ्यो। त्यसबाहेक किताब समाते पनि अक्षर देखिदैनन्,’ उनले भनिन्, ‘समस्या परेको बेला घरमा फोन गर्नलाई मोबाइमा चार्ज हुँदैन। सबै समस्या बिजुलीले निम्त्याएको हो।’

सिंजा गाउँपालिका ६ जोडु गाउँकी शान्ता बुढा बालबच्चालाई पढाउनका लागि सदरमुकाम खलंगामा बस्न लागेको धेरै भयो। 

गाउँमा बिजुली नहुँदा बालबच्चालाई पठनपाठनमा सहज होस् भनी  सदरमुकाम खलंगा आएकी उनलाई आजभोली किन आए हुँला जस्तो लाग्ने गरेको छ। 

‘बत्ती त कहिल (कहिले) रानो, कहिल कानो छ। चार दिनमा एक दिन त्यै पनि दुई घण्टा मात्र आउँछ। कहिल बत्ती आला (आउला) भुनि बस्याका छौं,’ उनले भनिन्, ‘सजालो (सजिलो) होला भनी गाउँबाट बजार आयौं। न्या पुनि उस्तै रछ। गाउँमा दियालो हुन्छियो, न्या त त्यो पुनि नाई।’ 

चन्दननाथ नगरपालिकाको वडा नम्बर एक र तीनबाहेक अरु सबै ठाउँमा तीन सातादेखि बिजुली आपूर्ति बन्द छ। उसो त बिजुलीको समस्या यहाँका नागरिकका लागि नौलो होइन। तर, पहिला यति धेरै समस्या खेप्नु नपरेको जुम्ला बजारका धनराज सुनार बताउँछन्। 

‘बिजुलीको लागि संघर्ष गर्न थालेको पनि हप्ता दिन बित्न थाल्यो। न सरकार सुन्छ न प्राधिकरण टेड पुच्छर लाउँछ,’ उनले भने, ‘समस्या सबैतिर बढिसक्यो। बिजुली नहुँदा, उद्योग धन्दा बन्द छन्। कार्यालयका सेवा सुविधा जनताले पाउन सकेका छैनन्। जनता त संचारबाट समेत बन्चित छन्। बिजुली भन्नुस् वा उज्यालो त्यो बिहानदुखि साँझसम्म मात्रै हो।’

खलङ्गा बजारमा सातामा ९४ घण्टा लोडसेडिङ हुने गरेको छ। घुघुत्ती साना जलविद्युत आयोजनाको दुबै मेसिनमा बिग्रिएपछि बजार लोडसिडङको चर्को मारमा छ।

वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले दिनमा छ घण्टा मात्र चलाउने गरिएको छ। जसले सबैतिर बिजुली पुर्‍याउन सम्भव छैन।

एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३०० केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो। 

विद्युत गृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट संचालन हुन सकेन। त्यसयता खलङ्गामा बिजुली आपूर्ति अनियमित बनेको हो।

बिजुली प्राप्तिको लागि जुम्लीहरुले सबै प्रकारका संघर्ष गरिसकेका छन्। सरकारका सबै निकायको ध्यानाकर्षण भइसकेको छ। दियालो आन्दोलन जस्तो अन्तिम अस्त्र प्रयोग गरिएको छ। तर बिजुली बल्ने अत्तोपत्तो छैन।

एक वर्ष अघि जुम्लाका सांसद महतले जुम्लाको बिजुली समस्यालाई विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत कुलमान घिसिङ र उर्जा मन्त्री वर्षमान पुनलाई श्री ३ महाराज भन्दै व्यंग्य गरे। तर, पनि सरकार गम्भीर भएन। परिणाम जुम्लीहरु अझै अँध्यारोमा धकेलिएका छन्।

२०४० सालमा घुघुत्तीमा उत्पादित विद्युत गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाख ७७ हजार र थप तत्कालीन जिल्ला विकास समितिबाट थप रकम गरी तीन करोड नौ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भयो। 

तर, जडित मेसिनहरु डुप्लिकेट भएका कारण एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए।

‘हामी कराउँदा कराउँदा घाँटी सुकिसक्यो, न नक्कली काम गर्नेलाई कारबाही भएको छ, न त बिजुली नियमित गर्नेबारे कुनै चासो देखाइएको छ। सरकारको यस्तो लापरबाहीले देश कसरी उभो लाग्ला? जुम्लालाई सम्भावनाको सहरमात्र जपेर के नै होला र?’

यता वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले दुईवटै टर्बाइन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको बताए। 

‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,’ उनले भने, ‘अर्कोमा बेरिङ भाँचिएको छ। मेसिन मर्मतका लागि काम भइरहेको छ। तर, सबै अनिश्चित छ।’

डिजेल प्लान्ट संचालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरण केन्द्रसँग अनुरोध गरिएको उनले जानकारी दिए। 

‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट संचालन गर्न माग गरेका छौं। अनुमानि पाइएको छैन,’उनी भन्छन्।

भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि जुम्लीले दुख पाइरहेको नागरिक समाजका अध्यक्ष महतको बुझाइएको छ।

बुधबारमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक छ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट संचालन गर्न विद्युत प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय गरेको छ। 

त्यस्तै, जुम्ला ल्याउन लागिएको ३३ केभी मेसिन छिटो पुर्‍याउन ध्यानाकर्षण गराउने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।

जवा नदीबाट पाँच मेघावाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेको र आर्थिक वर्ष २०७२र०७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको भएपनि सरकारले कार्यान्वयन नगर्दा सर्वोच्च अदालतमा रिट परेको पूर्वसांसद ललितजंग शाहीले बताए। 

‘रिट परेपछि सर्वोच्च अदालतले पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नुरगराउनू भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यान्वयन गरेन। यस विषयमा पनि ऊर्जा मन्त्रालय, विद्युत विकास विभागको गम्भीर ध्यानाकर्षण गराउने पनि बैठकमा निर्णय भएको छ,’ उनले भने।

यसैबीच विद्युत तथा संचार सेवा आपूर्ति संघर्ष समितिले नियमित २४ घण्टा बिजुली आपूर्ति गर्न माग गरेको छ। 

जुम्लाका लागि ११ केभी र ३३ केभी राष्ट्रिय प्रसारण लाइन सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न विद्युत प्राधिकरण जुम्लाको ध्यानाकर्षण गरिएको संयोजक राजबहादुर महत भन्छन्।

बिजुली नहुँदा जिल्लाका संचार गृह नराम्ररी प्रभावित भएका छन्। खलङ्गामा संचालित संचार गृह रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका काम समेत प्रभावित भएका छन्।
 

प्रकाशित मिति: : 2020-12-11 12:34:00

प्रतिकृया दिनुहोस्