यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
ईश्वर पोखरेल
साउनको झरी रोकिएपछिको उर्खरमाउलो गर्मी! विहानको ११ बजे धरानको पब्लिक उच्च माद्यामिक विद्यालयको प्राङ्गणमा जनसागर ओर्लिएको थियो। आफ्ना प्रिय नेता तारा सुब्बाको अन्तिम विदाईका निम्ति हजाराैँ जनता आँखामा आँशु, हातमा फुलका गुच्छाका साथ मलिन अनुहार लिएर लामवद्ध बनेका थिए।
धरान उपमहानगरपालिकाका मेयरको कार्यकाल सम्हालिरहेको छोटो अवधी तर लामो राजनीतिक जीवन पार गर्नुभएका तारा सुब्बाको पार्थिव शरिर शान्तपूर्वक चीर निन्द्रामा पल्टिरहेको थियो। उक्त पार्थिव शरिरमा राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएपछि उहाँको अन्तिम विदाइ सम्पन्न भयो। र, म काठमाडौं फर्किएँ...।
तारा सुब्बालाई विदा गरेपछि काठमाडौं फर्किदैं गर्दा पूर्वको धरानका अनेकन सम्झना र यादहरू मेरो दिमागमा सल्बलाउन थाले। अनेकन प्रतिकुलताका बीचमा पनि कम्युनिष्ट आन्दोलनलाई पूर्वको धरानले पुर्याएको योगदानको सम्झना गरिरहँदा तारा सुब्बालगायत धेरै व्यक्तिहरूको सम्झना आइरह्यो। ती सबै साथीहरू खासगरी तारा सुब्बा नै केन्द्रविन्दुमा आइरहनुभयो।
पार्टीको अत्यन्तै इमानदार, मेहनती, असल र निष्ठावान सदस्यको रूपमा मैले विगतदेखि जानेको-बुझेको योद्धालाई श्रद्धाञ्जली दिएर फर्किंदा ममा एक प्रकारको स्तब्धताले छोएको थियो। आफुसँगै काठमाडौंबाट गएका सहयोगी साथीहरूसँग पनि केही बोल्न मन लागिरहेको थिएन।
वास्तवमा पूर्वको धरान जहिलेपनि वामपन्थी र प्रगतिशील विचारबाट प्रभावित रह्यो। प्रगतिशील र वामपन्थी विचार बोकेका युवा, विद्यार्थी लगायतका नागरिकहरूका गतिविधिहरू धरानमा प्रायः बाक्लै हुन्थे।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि मात्रै होइन, पञ्चायती निरंकुशताको कालखण्डको बेलामा पनि धरानमा ती गतिविधिहरू देख्न सकिन्थ्यो। धरान एउटा प्रगतिशील गतिविधि भैरहने केन्द्र जस्तै थियो। प्रगतिशील साहित्य र महत्वपूर्ण पत्रपत्रिकाहरूको प्रकाशन त्यहीबाट हुन्थें। प्रतिकूल अवस्थामा पनि धरानलाई कम्युनिष्टहरूको महत्वपूर्ण केन्द्रविन्दुको रूपमा हामी बुझ्थ्यौं।
यिनै राजनीतिक गतिविधीका कारणले यो क्षेत्र एक प्रकारले कम्युनिष्टहरूको आधारभूमि र प्रभावित क्षेत्रको रूपमा परिचीत भैसकेको थियो। मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी मात्र होइन, झापा संघर्षपछि गठन भएको ‘को–अर्डिनेशन केन्द्र’ ले पनि आफ्ना गतिविधिहरू धरानमा फैलाइ रहेको थियो। यसका साथै, पूर्वको ‘रातो झण्डा’ समूहले पूर्वी पहाडी जिल्लाहरूमा गतिविधिहरू बढाउँदै लगे पनि धरानमै केन्द्रीत थियो।
यिनै र यस्तै पृष्ठभूमीका कारणले धरानमा जन्मिएका र हुर्किएका अधिकांश युवाहरू कम्युनिष्ट राजनीतिबाट प्रभावित भैइरहेका थिए र गतिविधिहरूमा अघि बढिरहेका थिए। कमरेड तारा सुब्बा पनि यही पृष्ठभूमिमा २०४० सालदेखि नै विद्यार्थी आन्दोलनमा सामेल भैरहेको हुनुभएको थियो।
अनेरास्ववियुमा संगठित हुँदै त्यसका गतिविधिहरूमा सामेल हुँदै सक्रिय र भरोसालाग्दो कार्यकर्ताका रूपमा अघि बढिरहनु भएको थियो। यही क्रम अघि बढ्दै तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा पुग्नुभयो। त्यसको केही समय पछि नै धरान नगर संयोजक र सुनसरी जिल्लाका अध्यक्ष हुँदै पछि केन्द्रीय सदस्य समेत हुनुभएको थियो। उहाँको क्रियाशीलता र जिम्मेवारी वहन गर्दै अघि बढ्ने कुराले वहाँलाई कम्युनिष्ट पार्टीसित सम्बन्धित भएर एउटा भरोसालाग्दो कार्यकर्ताका रूपमा अघि बढिरहेको थियो। धरानमा भूमिगत नेकपा (माले) का अनेकन गतिविधीमा समेत सामेल हुँदै अगाडि बढेको मैले देखेको हो। यसरी उहाँ विभिन्न समयमा सक्रिय राजनीतिमा रहँदै अखण्डित ढंगले अघि बढिरहनु भयो।
आन्दोलनका अनेकन प्रतिकूल अवस्थामा पनि तारा सुब्बाको शालिन व्यक्तित्व, भद्र स्वभाव र निष्ठावान व्यक्तित्वको परिचय मेरो आँखामा सुरक्षित रहेको छ।
त्यही सन्दर्भका माझ २०५१ सालमा नेकपा (एमाले)ले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो। त्यसवेला म प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिएँ। त्यसबेला जिल्लाहरूमा खेलकुद विकास समिति गठन गर्ने तयारी थियो।
हामीले सुनसरीमा उहाँलाई सचिवको जिम्मेवारी दिने कुरा गर्यौँ। तारा सुब्बाले उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। २०५४ को स्थानीय चुनावमा धरानबाट वहाँ जनप्रतिनिधिको रूपमा समेत विजयी बन्नु भएको थियो।
वास्तवमा कमरेड तारा सुब्बामा राजनीतिक योगदान, इमान्दारीता, लगनशीलताका साथै निष्ठामा निरन्तरताका अनेकन विशेषता थिए। यस्तो हुँदाहुँदै पनि उहाँको स्वभाव भने स्थानीय तहको जिम्मेवारीलाई पुरा गरिरहने कार्यकर्ताको रूपमा रहन रूचाउने खालको थियो। त्यसै हिसावले उहाँ जीवनको अन्तिम घडिसम्म सक्रिय रहिरहनुभयो।
संविधानसभाको पहिलो निर्वाचन अघि र पछि पार्टीभित्र जातियताका विषयलाई केन्द्रविन्दुमा राखेर जे–जस्ता बहस, विवाद र अस्वस्थता देखापरे, त्यसबाट तारा सुब्बा टाढा नै रहनुभयो।
विभिन्न समयमा राजनीतिमा अनेकन धारहरू देखापर्दा पनि उहाँले अनुचित ढंगले पक्षधरता देखाउन रूचाउनु हुन्नथ्यो। सहि र असल कुराको पक्षमा मात्रै उभिने उहाँको स्वभाव थियो। त्यस्तो आचरणयुक्त कार्यकर्ताको रूपमा मैले कमरेड तारा सुब्बालाई चिनेको हुँ।
जहिलेदेखि मैले बुझें, तारा सुब्बाको यस्तै व्यक्तित्व सहित उहाँलाई चिनें। उहाँलाई जहिले भेट्दापनि शालिन, भद्र, नरम बोलीबचन र मिजाशिलो व्यक्तित्वका रूपमा पाएँ। वहाँको यही विशेषता र गुणका कारण मेरो विश्वास र सम्मानभाव उहाँप्रति थियो। उहाँं धराने जनताको मनभित्र लोकप्रिय नेताको रूपमा स्थापित भइसक्नु भएको थियो।
स्थानीय निर्वाचनमा धरान जस्तो जागरूक ठाउँमा तत्कालीन नेकपा (एमाले)बाट मेयरको उम्मेदवारको हिसावले उहाँले झण्डै २१ हजार मत पाएर विजयी हुनुभयो। एमालेका विरूद्ध अरू सवै शक्तिहरू मोर्चावद्ध भएर प्रतिस्पर्धा गर्दा समेत उहाँले ४ हजार ७ सय ७३ मतको फराकिलो अन्तरले विपक्षीलाई हराउनुभएको थियो। वास्तवमा यसले उहाँको लोकप्रियताको मापन गरिसकेको प्रमाणित हुन्छ।
धरानमा उहाँको नेतृत्वमा मेयरमा मात्रै होइन, उपमेयरलगायत ठूलो संख्यामा अधिकांश सिटमा तत्कालीन नेकपा (एमाले) विजय हुन सम्भव भएको थियो। यसरी तारा सुब्बा जनताले विश्वास गरेको प्रतिनिधिका रूपमा स्थापित हुनुहुन्थ्यो र लोकप्रियताको शिखरमा हुनुहुन्थ्यो।
प्रतिस्पर्धाको राजनीतिमा जित हाँसिल गरिरहँदा वा एमालेको वफादार कार्यकर्ताको रूपमा स्थापित भैरहदा तारा सुब्बाको पारिवारिक जिवन भने अत्यन्तै असहज रह्यो। तर, उहाँले आफ्नो प्रतिकुल स्थिति हुँदापनि आफ्नो राजनीतिक र सांगठनिक भूमिकालाई कमजोर हुन दिनुभएन। व्यक्तिगत रूपमा उहाँको स्वास्थ्य स्थिति अत्यन्तै कमजोर हुँदा–हुँदै पनि क्रियाशीलतामा कुनै कमी आएन। जिम्मेवारी सुम्पिएको क्षेत्रमा उहाँको भूमिका कहिल्यै कमजोर रहेन।
धरानको मेयरमा उम्मेदवार हुनुभन्दा पहिला उहाँसँग मैले स–विस्तार पूर्वतिरको स्थानीय निर्वाचन र सम्भावित परिणाम बारे छलफल गरेको थिएँ। उहाँ मेयरको उम्मेदवार हुँदा म खुसी भएको थिएँ। र, निर्वाचनमा उहाँ विजय भएपछि त झन धेरै खुशी भएको थिएँ। उहाँ मेयर भैसकेपछि म धरानका केही कार्यक्रमहरूमा सामिल हुन पुगेको थिएँ।
त्यसबेला उहाँ आफ्नो प्रतिकुल स्वास्थ्य स्थिति हुँदाहुँदै पनि सक्रियताका साथ आफूले अघि सारेको योजना पुरा गर्ने-गराउने काममा लाग्नुभएको देखेको थिएँ। वहाँ निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धताको आधारमा काम गर्दै हुनुहुन्थ्यो। आफ्नो प्रतिवद्धतालाई कार्यन्वयन गर्ने काममा उहाँमा एक प्रकारको हुट्हुटी पाउथें। तर उहाँको समय छोटो रहेछ!
पार्टी र आन्दोलनको सदैव हित चिताउने तारा सुब्बालाई मैले आफ्नो निष्ठामा कहिल्यै नचुक्ने एउटा निष्ठावान, इमान्दार र सामाजिक–राजनीतिक यात्रालाई अविरल अगाडि बढाइरहेको पार्टीको जिम्मेवार कार्यकर्ताको रूपमा पाएँ।
जनताको सच्चा प्रतिनिधिका रूपमा मैले जनताको सच्चा प्रतिनिधिका रूपमा चिन्ने मौका पाएँ। उहाँको निधनमा ओर्लिएका धराने जनता मात्रै नभै विराटनगर र माथि पहाडदेखि कै सिंगै पूर्वी भेगका जनताको उपस्थितिले उहाँप्रतिको मेरो बुझाईले बल प्राप्त गरिरहेको थियो!
उहाँको असामयिक निधनले सिङ्गो नेपाल कम्युनिष्ट पार्टी, कम्युनिष्ट आन्दोलन र धरान उपमहानगरपालिकालाई अपूरणीय क्षति भएको छ। उहाँका अधूरा अठोट र सङ्कल्प पूरा गर्न निरन्तर लागिरहने प्रण गरौं!
हार्दिक श्रद्धाञ्जलि !!
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया