सनकको शिकार संसद् भयाे, त्यसैले सडकमा आउनुपर्‍यो: गगन थापा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सांसद गगन थापाले सनकको शिकार संसद भएको बताएका छन्।  

‘प्रधानमन्त्री केपी शर्मा ओलीले सनकमा आएर यस्तो काम गर्नुभयो भने त्यो काम रोक्ने राष्ट्रपतिले हो। तर राष्ट्रपति उनको अपराधको साक्षीमात्रै होइन, साझेदार बन्नुभएको कारण सडकमा आउनुपर्‍यो,’आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले भने। 

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी उनको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको थापाकाे आरोप छ।

‘नेकपाको झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भयो। हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो। प्रधानमन्त्रीले गरेको गल्तीलाई सच्याउनुको सट्टा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस अनुमोदन गरिदिएर अपराधको साक्षी बसे,’उनले भने।

उनले राष्ट्रपति ओली ग्याङ्गको सदस्य मात्र भएको समेत बताए।

‘विद्यादेवी भण्डारी, तपाईं आजदेखि मेरो राष्ट्रपति होइन। ओलीको ग्याङको सदस्य मात्रै हो,’ उनले भने, ‘संसदबाट निर्वाचित राष्ट्रपति संसदकै अपराधमा उत्रिन्छिन् भने उनी राष्ट्रपति होइन।’

थापाले ओली प्रधानमन्त्री भएको दिनदेखि जनता चैनमा सुत्नसमेत नसकेको बताए।

‘जसले तालाचावीको जिम्मा लियो। त्यही प्रधानमन्त्रीले संसदको तालाचावी फोडेर त्यहाँभित्र रहेका सबै बन्दोबस्तलाई अस्तव्यस्त बनाएका कारण हामी सडकमा आउन बाध्य भयौं,’ थापाले भने।

प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उनले बताए। 

 थापाले भनेका छन्, ‘संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनले बताए। यति स्पष्टसँग लेख्दालेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरे।’

प्रधानमन्त्री ओलीले पाँच वर्ष काम गर्न अनुकूल समय भए पनि काम गर्न नसकेको उनले बताए। 

‘तीन वर्षपछि आज प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ,’ उनले भने, ‘हाम्रा उपलब्धि एकपछि अर्को नाश हुँदै गइरहेको छ।’

कोरोना महामारीका बेला जनअपेक्षाअनुसार काम गर्ने बेला प्रधानमन्त्रीले संसद विघटन गरेको उनले बताए।

प्रकाशित मिति: : 2020-12-20 20:14:00

प्रतिकृया दिनुहोस्