जुम्लाको चन्दननाथ र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध, नगरपालिकाले पायाे डेढ करोड सहयोग

जुम्लाको चन्दननाथ नगरापलिका र काठमाडौं महानगरपालिकनबीच भगिनी सम्बन्ध स्थापित भएको छ। 

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य जुम्ला आएर चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रुपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन।

समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य गरिने जानकारी दिए। 

‘काठमाडौंमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन्,’ उनले भने, ‘मानव निर्मित सम्पदाले धनी काठमाडौं सांस्कृतिक सहर र कर्णालीको नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैमा सकारात्मक छ।’

प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरिएको उनको भनाइ छ। 

शाक्यले यसअघि काठमाडौं महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिए।

महानगरले यसअघि नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौंका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएको छ। 

भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदी विषयमा पनि सहकार्य गर्ने शाक्यले थपे।

‘रारा, सेफोक्सुण्डोजस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भने। 

चन्दनथान नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरिन्। 

भगिनी सम्बन्धले सकारात्मक भुमिका खेल्ने र यहाँका विकास निर्माणमा पनि टेवा पुग्ने उनको भनाइ छ।

भगिनी सम्बन्ध स्थापना गर्दै चन्दननाथ नगरपालिकालाई डेढ करोड रकम सहयोग गर्ने गरी समझदारी पत्रमा महानगर प्रमुख शाक्यले हस्ताक्षर गरेका छन्। 

सेजुवालका अनुसार उक्त सहयोग रकमले नगरक्षेत्रमा पर्यटकीय पार्क निर्माण गर्ने योजना छ।

प्रकाशित मिति: : 2020-12-23 12:25:00

प्रतिकृया दिनुहोस्