कालीदासकी चेली सुनैनाः जो समाज परिर्वतनमा जुटेकी छिन् (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

लमजुङमा जन्मे पनि सुनैना पन्थीको बाल्यकाल काठमाडौंमै बित्यो। क्षेत्रपाटीमा स्कुल पढिन्। हाल उनले अंग्रेजी साहित्यमा मास्टर्स गरेकी छिन्। ६–७ कक्षा पढ्दै गर्दा उनलाई चित्रकलाको भूत चढेको थियो।

आफ्नो रहर पुरा गर्न उनले नेपालकै ख्यातीप्राप्त कालीदास श्रेष्ठसँग चित्रकला सिकिन्। कालीदास उबेलै नाम चलेका साहित्यकार, राजादेखि रैतीसम्मले मान्ने। 

चित्रकला सिक्नेक्रममा कालीदासले सुनाएका कुराबाटै सुनैनाले धेरै ज्ञान बटुल्ने अवसर पाइन्। स्कुलले पढाई सकिदै गर्दा उनलाई आफूले सिकेको सीप व्यवहारमा उतार्न मन लाग्यो। स्कुले जीवन समाप्त भएसँगै सुनैना आर्ट, कल्चर, थिएटर तथा लेखनतर्फ मोडिइन्। 

सुरुमा फाट्टफुट्ट नाटकहरूमा काम गर्न थालेकी सुनैनाले सन् २०१२ मा नेपाली आमा नामक एक सोमा सहायक स्टेज म्यानेजर भएर काम गरेकी थिइन। जसको खुब प्रसंसा भयो। 

नाटक गर्नुअघि उनले विभिन्न फेस्टिभलमा पनि भाग लिएकी थिइन। उनले लामो समय नेपालमा हुने साहित्य सम्मेलनमा भोलेन्टियर काम गरिन्, जसका कारण उनलाई धेरै कुरा सिक्ने अवसर पनि प्राप्त भयो।  

सुनैनालाई नाटकमा काम गर्दा रमाईलो मात्र लागेन, यसले समाज परिर्वतन गर्न सक्छ भन्ने बलियो छाप पनि प¥यो। उनले नेपालमा गएको महाभुकम्पको बेला एउटा एनजीओसँग मिलेर काम गर्ने अवसर पनि पाइन्।

गाउँमा सरकार नपुगेको बेला उनी इजराइली एड नामक एउटा संस्था बोकेर गाउँगाउँ छिरिन्। भुकम्पको पिडा भुलाउन विभिन्न कार्यक्रममार्फत मान्छेलाई पुरानै अवस्थामा फर्काउन केही हदसम्म सफल भएकोमा उत्साहित पनि बनिन्। 

सन २०१६ मा डेनमार्कमा भएको एक कार्यक्रममा भाग लिन जानेक्रममा उनले अर्को कोर्स गर्ने अवसर पाइन्। यसपछि उनको आत्मविश्वास झन् चुलियो। 

यही उनले अब समाजलाई जागरुक बनाउन, स्टेजमा मात्र सिमित नभएर समाजको बीचमा जाने निर्णय गरिन्। जसको फलस्वरुप अहिले ‘एजुकेसन थिएटर’ नामक एउटा संस्थाको जन्म भयो। जुन संस्थामार्फत उनी समाजमा विधमान कुरुतिविरूद्ध आवाज उठाउँदै हिँडेकी छिन्। 

अहिले उनको दैनिकी नै बनेको छ– देशका विभिन्न स्कुल–कलेज पुगेर निरन्तर जनचेतना फैलाउने। भन्छिन्, ‘मलाई यो गर्दा सुन्तुष्टी मिल्छ। समाज परिवर्तनको अभियानमा मेरो पनि केही योगदान छ कि जस्तो लाग्छ।’

सुनैना अहिले पनि समाजका थुप्रै तथ्यबाट साक्षात्कार हुन बाँकी रहेको बताउँछिन्। उनीको उद्देश्य छ–समाजका लागि केही गर्ने अठोटसहित अझै आफ्नो कार्यमा डटेर लाग्ने।  

प्रकाशित मिति: : 2020-12-23 19:21:00

प्रतिकृया दिनुहोस्