कर्णालीका कुडा गर्ने, गराउने ‘कर्णाली उत्सव’ फागुन अन्तिम साता हुँदै

'कर्णाली उत्सवः कुडा कर्णालीका' फागुनकाे अन्तिम साता हुने भएकाे छ। आइतबार बिहान उत्सव आयाेजक संस्था ऋती फाउन्डेसनले पत्रकार सम्मेलन गरि फागुन २७, २८ र २९ गते हुने जानकारी दिएकाे हाे।

आयाेजक संस्थाले कर्णाली केन्द्रीकृत राज्यकाे नजरबाट टाढा रहेकाले समृद्धिका कुडा नियमित गर्ने श्रृंखला 'कर्णाली उत्सव' भएकाले हरेक वर्ष आयाेजना गरिने जानकारी दिएकाे छ। 

भाषा, साहित्य, सभ्यता, कला, संस्कृति, रहनसहन, जीवनशैली, राजनीति, सम्भावना लगायत महत्त्वपूर्ण विषयमा घनिभूत रुपमा छलफल गर्ने एक शसक्त माध्यम 'कर्णाली उत्सव' भएकाे आयाेजक समितिका संयाेजक कमल लम्सालले जानकारी दिए। 

'कर्णाली उत्सवको दोस्रो संस्करण पनि सुर्खेतको बुलबुले उद्यानमा हुनेछ,' उनले भने, 'अघिल्लो वर्षझैं, देशभरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरु अतिथि, वक्ताको रुपमा उपस्थिति हुनुहुनेछ।'

कर्णाली प्रदेशको पहिचान र संभावनालाई उजागर गरी यहाँको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्वलाई राष्ट्रिय रुपमा परिचित गराउनुका साथै कर्णाली प्रदेशलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नु यस उत्सवको लक्ष्य रहेको छ।

कर्णाली उत्सवकाे मुख्य उदेश्य इतिहास, कला, संस्कृति, भाषा र साहित्यको जगेर्ना गर्नु, कर्णालीमा रहेका आर्थिक अवसरहरुको खोजी गर्नु, राजनीतिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको विषयमा विमर्श गर्नु, कर्णालीको शैक्षिक तथा प्रशासनिक विकासको पैरवी गर्नु, कर्णालीको जनजीवन, इलम र सीपको चर्चा गर्नु, कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु तथा समस्या समाधानको सुत्र पहिल्याइ सुशासन र समृद्धिको साधक बन्नु रहेकाे लम्सालले बताए।

'यस वर्षको उत्सवमा थप आकर्षणका केही प्रस्तुतिहरु समेत हुनेछन्। जसमा कर्णालीका मौलिक कलाहरुको प्रस्तुति तथा नदेखिएका र नसुनिएका हिरो (पैकालो) हरुका कथा पनि रहनेछ,' उनले थपे, 'उत्सवस्थलमा कर्णालीको बृहद चिनारी झल्काउने सांकेतिक चिन्हहरु पनि रहनेछन्। कुडा गर्ने उत्सव कर्णालीको संस्कृति बनाउन सबैको यथेष्ट सहयोग रहेनछ।' 

फागुन अन्तिम साता कर्णालीले आफ्नाे बारेमा आफै र अरुलाई समेत बाेल्न लगाउने भएकाले देशकै ध्यान कर्णालीमा केन्द्रित गर्ने गरि दोश्रो संस्करणकाे तयारी भइरहेको उत्सव तयारी समितिका सदस्य दिनेश गौतमले बताए। 

'उत्सवले कर्णालीको वास्तविकतालाई बाहिर ल्याएर देशलाई र समग्र विश्वलाई देखाउने छ,' उनले भने, 'काेराेना माहामारीकाे विषम परिस्थितिमा पनि कर्णाली चिनिनुपर्ने भएकाे तयारी तिब्र रुपमा चलिरहेको छ।'

२०७६ फागुनबाट सुरु भएको कर्णाली उत्सव हरेक वर्ष आयोजना गरिने संयाेजक लम्सालले थपे, 'कर्णाली उत्सव विचारको कुम्भ मेला हो। उत्सवमा कर्णालीको पहिचान र सम्भावना केलाइन्छ। हामी यो प्रत्येक वर्ष गछौं। उत्सव मार्फत समस्याको समाधान खोज्छाैं र सरकारलाई जनताप्रति जवाफदेही बनाउने प्रयास गर्छाैं,' उनले भने।

गएकाे वर्ष कर्णाली उत्सवले १४ वटा विभिन्न सत्रहरुमा हामीले सम्मृद्धिको सपनाबारे बहस गरेकाे थियाे। 

जसमा संघीयताको मर्म, कर्णालीको सिंजा उपत्यकामा उत्पति र विकास भई आज नेपाली भाषीहरु जहाँजहाँ पुगेका छन् उनीहरुलाई जोड्ने साझा खस नेपाली भाषाका आयामबारेकाे मन्थन्, केन्द्रीकृत सत्ताबाट उपेक्षित, दुर्गम र अविकासको मानक बनेको कर्णालीका संस्कार र समानता बारेकाे सत्र, कर्णालीको रंगमञ्च, सिमान्त स्वर, कर्णालीका कथा संगसंगै काला पहाड धाइरहनुपर्ने कर्णालीबासीको बाध्यता, कर्णालीको ११ औं जिल्ला- राउटेका बारे उनीहरुसँगै बसेर पेचिलाे बहस गरेकाे थियाे।

प्रकाशित मिति: : 2021-01-03 19:33:00

प्रतिकृया दिनुहोस्