दक्षिण कोरियामा गत वर्ष जन्मिनेभन्दा मर्नेको संख्या बढ्यो

दक्षिण कोरियामा घट्दो जनसंख्या चिन्ताको विषय बन्न थालेको छ। सन् २०२० मा जन्मिनेभन्दा मर्नेको संख्या उच्च बिन्दुमा पुगेपछि कोरियाली सरकारको चिन्ता बढेको हो। दक्षिण कोरिया यसअघि नै विश्वको सबैभन्दा छोटो जन्मदर भएको देश थियो।

सरकारले हालै सार्वजनिक गरेको डिसेम्बर महिनासम्मको तथ्यांकमा दक्षिण कोरियाको जनसंख्या ५ करोड १८ लाख २९ हजार २३ रहेको छ। गत वर्षको तुलनामा यो २० हजार ८ सय ३८ प्रतिशतले कम हो। २०२० मा यहाँ २ लाख ७५ हजार ८ सय बालबालिकाको जन्म भएको थियो। यो २०१९ को तुलनामा १० प्रतिशतले कम हो। 

गत वर्ष दक्षिण कोरियामा करिब ३ लाख ७ हजार ७ सय ६४ जनाको निधन भएको थियो। देशको कूल जनसंख्याको हिसाबले केही दशकयता कोरियामा ‘ग्रोथ रेट’ घट्दो अवस्थामा छ। २०१० मा कोरियाको ‘ग्रोथ रेट’ १ दशमलव ४९ प्रतिशत थियो। जुन २०१९ मा आउँदा घटेर ० दशमलव ०५ प्रतिशत पुगेको थियो। यस वर्ष त्यो पनि घटेर जन्मदर ० दशमलव ९२ प्रतिशत पुगेको छ। 
अहिलेको तथ्यांकले दक्षिण कोरियालाई आफ्नो नीति परिवर्तन गर्न झस्काएको छ। गृह मन्त्रालयले पनि आफ्नो नीतिमा ‘मुलभूत परिवर्तन’ गर्न सुझाव दिएको छ।

एसियाको चौथो ठूलो अर्थतन्त्र भएको देशको जनसंख्या घट्दै जानु र वृद्धवृद्धाको जनसंख्या बढ्नुले चिन्ता थपेको छ। हाल ६० वर्ष माथिका वृद्धवृद्धाको जनसंख्या कोरियामा बढ्दै गएर २४ प्रतिशत पुगेको छ। 

वृद्धवृद्धाको जनसंख्या बढेका कारण स्वास्थ्य सेवा तथा पेन्सनमा अधिक खर्च हुन थालेको सरकारी भनाई छ। युवाहरूको जनसंख्या घट्दा रोजगारीमा समस्या हुन थालेको छ।

प्रकाशित मिति: : 2021-01-05 10:55:00

प्रतिकृया दिनुहोस्