ब्युँतिएला त जनताको बहुदलीय जनवाद ?

शिलापत्र

काठमाडाैं

नेकपा प्रचण्ड–माधव नेपाल समूहका जनताको बहुदलीय जनवाद (जबज) पक्षधर नेता प्रदीप नेपालले ११ पुसमा फेसबुकमा लेखे, ‘साथी हो जनताको बहुदलीय जनवाद नै नेपालको मार्क्सवाद हो । एक दिन सबै एकठाउँमा भेटिनै पर्छ । त्यसैले गालीगलौज नगरौं है ।’ 

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको ५ पुसको कदमपछि सत्तारुढ नेकपा दुई चिरामा बाँडियो । नेता–कार्यकर्ताहरु एकअर्कालाई दोष लगाउँदै गालीगलौंजमा उत्रिइरहेका थिए । त्यही सन्दर्भमा मालेकालीन नेता नेपालले सामाजिक सन्जालमै यस्तो आव्हान गरेका थिए । उनले भनेझै दुई नेकपा जबजमा भेटिने सम्भावना भने तत्काल देखिएको छैन । 

मदन भण्डारी र उनले प्रतिवादन गरेको सिद्धान्त जबजले तत्कालीन नेकपा (एमाले) लाई बितेका ३० वर्ष एकैठाउँ राख्यो । एमालेको संसदीय राजनीतिको एउटा अस्त्र थियो, जबज । कतिसम्म भने २०५४ सालमा पार्टी विभाजन हुँदा समेत एमाले र माले दुबैले जबज स्वीकारेका थिए । चार वर्षपछि माले नेता कार्यकर्तालाई एमालेमा फर्किन त्यही वैचारिक आधारले सहज तुल्याएको थियो । भलै, जबज नमान्ने नेता सीपी मैनाली एमालेमा फर्किएनन् । उनी अहिले पनि माले महासचिव छन् । 

नेकपाको अहिलेको विभाजन मुलतः पूर्वएमालेको विभाजनजस्तो देखिन्छ । पूर्वमाओवादीको ८० प्रतिशत पंक्ति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै हुँदा पूर्वएमाले भने नवौ महाधिवेशनका दुई प्यानलका रुपमा बाँडिएको छ ।

पूर्वएमालेको ठूलो पंक्ति अझै पनि त्यही जबजमा विश्वास गर्छ । विभाजित नेकपाका दुबै समूहमा पूर्वएमाले हाबी पनि छ । तर, दुबै नेकपाले जबजलाई बोकेर हिँड्ने स्थिति भने तत्काल देखिँदैन । पूर्वएमालेको तल्लो पंक्तिलाई प्रभावित गर्न दुबैले भित्रभित्रै जबजको रटान लगाउन भने छाडेका छैनन् ।

प्रकाशित मिति: : 2021-01-06 10:21:00

प्रतिकृया दिनुहोस्