ट्रम्प समर्थकद्वारा क्यापिटल बिल्डिङमा प्रदर्शन, एक महिलाको निधन

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र मानिने अमेरिका बुधबार लज्जित बन्न पुगेको छ। वासिङ्टनस्थित क्यापिटल बिल्डिङमा अमेरिकी कांग्रेसको इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्मथकले प्रदर्शन सुरु गरे। 

यहाँ इलेक्टोरल कलेजको बहसपछि राष्ट्रपतिमा निर्वाचित जो वाइडेनको जितलाई लिएर आधिकारीक तथा कानुनी पुष्टी गर्नुपर्ने बेला हजारौंको संख्यामा ट्रम्पका समर्थकले प्रदर्शन सुरु गरेका हुन्। 

ट्रम्प समर्थक जुलुस क्यापिटल बिल्डिङको भित्र प्रवेश गरेपछि अमेरिकी राष्ट्रपति चुनावको नतिजा स्थगित गर्नुपरेको थियो। यतिबेला स्थिति तनावपूर्ण बन्न पुग्दा हिंसात्मक गतिविधिलाई रोक्न नेशनल गार्ड्स सुरक्षामा उत्रिएको थियो। 

बेलायती अखबार डेली मेलका अनुसार क्यापिटल बिल्डिङमा प्रदर्शनका क्रममा एक महिलालाई गोली लागेको थियो र उनको अस्पतालमा मृत्यु भएको बताइएको छ। 

बिल्डिङमा गोलीको आवाज सुनिएको थियो। रिपोर्ट्सका अनुसार क्यापिटल बिल्डिङको नजिक बिस्फोटक डिभाइस पनि भेटिएको छ। 

जतिबेला ट्रम्प समर्थक जुलुस नाराबाजी गर्दै बिल्डिङ भित्र प्रवेश गरे सुरक्षाकर्मीले अमेरिकी सांसदलाई ग्यास मास्क प्रयोग गर्न उर्दी लगाइएको थियो। 

प्रदर्शनकारीलाई रोक्न सुरक्षाकर्मीले अश्रु ग्यास छोडेका थिए। हिंस्रक प्रदर्शनलाई मध्यनजर राख्दै वासिङ्टनमा कफ्र्यु घोषणा गरिएको छ। कफ्यु बिहानसम्म लागु हुनेछ। 

अमेरिकी संसदभित्र प्रदर्शनकारी प्रवेश गरेपछि सुरक्षाकर्मीले हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेट खाली गराएका थिए। यतिबेला ट्रम्प समर्थकले नाराबाजी गरे। उनीहरू आफूले चुनाव जितेको बताइरहेका थिए। 

ट्रम्पले आफ्नो समर्थकलाई सम्बोधन गरेको दिन नै यो प्रदर्शन भएको हो। उनको सम्बोधनपछि समर्थकहरू क्यापिटल बिल्डिङतर्फ लागेका थिए।

प्रकाशित मिति: : 2021-01-07 08:04:00

प्रतिकृया दिनुहोस्