माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग, सहभागी टिमले चार जना विदेशी खेलाडी राख्न पाउने

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग सञ्चालन हुने भएको छ । फागुन ७ गतेसम्म खेल हुने गरी लिग सञ्चालन गर्न लागिएको एन्फाले जनाएको छ । 

एन्फाका अनुसार एक महिनासम्म सञ्चालन हुने लिगमा तीन विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहनेछ। 

यस्तै चौदण्डीगढी नगरपालिका (उदयपुर), विराटनगर महानगरपालिका (मोरङ), वालिङ नगरपालिका (स्याङ्जा) र चन्द्रपुर नगरपालिका (रौतहट) ले प्रतिस्पर्धा गर्नेछन्।

लिगको पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुने छ भने अन्य खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । 

एन्फाकाअनुसार हरेक टिममा २३ खेलाडी र अफिसियलसहित जम्मा ३० जना रहनेछन् भने हरेक टोलीले चरा जना विदेशी खेलाडी समेत आफ्नो टिममा राख्न र खेलाउन सक्नेछ । 

प्रतियोगितामा प्रथम हुने टोलीले १५ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोस्रो हुनेले ८ लाख, तेस्रो र चौथो हुनेले क्रमशः ५ र ३ लाख पुरस्कार पाउनेछ । 

यस्तै प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, हरेक विधाका उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने पनि एन्फाले जनाएको छ । 

एन्फाले सहभागी सातै टिमलाई तयारीका लागि १ लाख रुपैयाँ दिनेछ भने कोभिड रिलिफ फन्डबाट थप ५० हजार प्रदान गर्नेछ। 

प्रतियोगितका लागि खान–बस्न लगायतका आवश्यक प्रवन्ध एन्फाले नै गर्नेछ ।

प्रकाशित मिति: : 2021-01-15 14:44:00

प्रतिकृया दिनुहोस्