माधव नेपाल भन्छन्- पतन सुरु भएपछि ओलीले डम्फू बजाउँदै केन्द्रीय सदस्य खोज्न थाले (भिडियाेसहित)

विभाजित नेकपाको ‘प्रचण्ड’ पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन सुरु भइसकेको बताएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले  नेपालमा अब ओली प्रवृत्ति र समूह पतनको बाटोमा रहेको बताएका हुन् ।  

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने,‘ओलीले १५ सय कमिटी बनाएर पतनको खाडल खनेका छन् । उनले संसद विघटन गरेर संविधान विपरित काम गरे। पतन सुरु भयो, पालो सकियो । अनि डम्फु बजाउँदै भन्न थाले आउनुहोस केन्द्रीय सदस्य लिनुहोस । लोभीहरु र्‍याल चुहाउँदै थाले ।’ 

उनले उक्त अवसरमा  निष्ठावान व्यक्ति त्याग र बलिदान हेर्न र लोभीहरु पद हेर्ने बताए । पार्टीले काम गर्न नदिएका कारण संसद विघटन गरेको भन्ने ओलीको तर्कतर्फ इंगित गर्दै  उनले  पार्टीले कुन कुरामा सहयोग गरेन प्रमाणसहित बोल्न काम चलाउ प्रधानमन्त्री समेत रहेका  प्रधानमन्त्रीलाई चुनौती दिए ।

यस्तै ओलीले पार्टीको झगडा समाधान गर्न नसकेर व्यवस्थामाथि घात गरेर  संसद विघटन गरेको पनि जानकारी दिए। 

 यस्तै नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली कम्युनिस्ट आन्दोलनबाट भागेको  आरोप लगाएका थिए । उनले संविधान विपरित, जनताको जनमतलाई धोका दिदै ओली कम्युनिस्ट आन्दोलनबाट भागेको बताए । 

उक्त प्रशिक्षणमा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओली   एकल रूपमा जान खोज्दा व्यवस्था नै खतरामा परेको बताए । 

‘ओली दलाल पुँजिवादको घेरामा फसे । पुँजीपतिहरूले नियन्त्रणमा लिए । अध्यक्ष नै पुँजीपतिका सारथी भए । विचार परिवर्तन हुँदै गयो ।’

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला र प्रशिक्षणमा बोल्दै उनले भने । उक्त भेलामा  नेकपाका हजारौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2021-01-17 21:43:00

प्रतिकृया दिनुहोस्