बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

सांकेतिक तस्बिर

उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ ।

नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवद्र्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना रहेको थियो ।

 नगरपालिकाको पहलमा अहिले मैनामैनीको बोपताङडाँडा र चम्पाकोट डाँडाबाट व्यावसायिक रुपमा उडान गर्ने योजना अन्तिमचरणमा पुगेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

प्रमुख थापाका अनुसार अब चैतको अन्तिमसम्ममा मैनामैनीको बोपताङ र चम्पाकोट डाँडाबाट नियमित व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गरेर सप्तकोशी किनारसम्म झर्न र पर्यटकलाई मनोरञ्जन दिनको लागि उडान कार्य तयारी हुन लागेको हो ।

यस अघिनै बेलकाको चैनामैनीस्थित चम्पाकोट र बोपताङ डाँडाबाट पटकपटक सो सम्बन्धी उडानको परीक्षण सफल भइसकेको बेलका नगरपालिकाले बताएको छ । बेलकाका पचास भन्दा बढी युवाले प्याराग्लाइडिङ सञ्चालन र उडानको तालीमसमेत लिएका छन् । प्याराग्लाइडिङ सञ्चालन र व्यावस्थापन गर्नको लागि  नगरपालिकाको पहलमा सुनसरीको धरान, बेलका नगरपालिका र कास्की पोखराका केही उद्यमीहरुले रु तीन करोडसम्मको आर्थिक लगानी गरिसकेकोले व्यवस्थापन कार्य अन्तिमचरणमा पुगेको नगरपालिकाले बताएको छ ।

अहिले सप्तकोशी क्षेत्र भ्रमण गर्न, सुनसरीको बराह क्षेत्र र मैनामैनी भ्रमण गर्न प्र्रतिमहिना पाँच हजार भन्दा बढी पर्यटक आउन थालेको र कोभिड–१९ को सुधारसँगै पर्यटकको सङ्ख्या बढ्दै जान थालेको बताइएको छ । 

मैनामैनी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन भएपछि बेलकाको ऐतिहासिक, पर्यटकीयस्थल मैनामैनी क्षेत्र र रामपुर ठोक्सिला बजार तथा सप्तकोशी क्षेत्रमा पर्यटकको आगमन बढेर स्थानीय क्षेत्रमा पर्यटन विकासमा टेवा पुग्ने थापा बताउँछन् ।

प्याराग्लाइडिङ सञ्चालनको लागि पोखराका प्राविधिक र यस क्षेत्रका अन्य व्यवसायीले योजना अगाडि बढाएको व्यवसायी सुरेश राईले बताए । पोखरा, बेलका र सुनसरीका व्यवसायीले आर्थिक लगानीसहित तयारी गरेको संलग्न व्यवसायी कृष्ण कार्कीले बताए । रासस 

प्रकाशित मिति: : 2021-01-18 14:26:00

प्रतिकृया दिनुहोस्