ओलीको भाषा पूर्वराजाकाे जस्तै ह्वास्सै गन्हायाे: प्रचण्ड (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

 नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको भाषा पूर्वराजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन्।  

नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताएका हुन्।

‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने।

उनले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए।

‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँ निरंकुश शासक बन्ने प्रयास गर्नुभयो। उहाँलाई म गाली गर्दिन। तर्क गरिरहेको छु। पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ। माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी म प्रश्न गर्न चाहान्छु’ प्रचण्डले प्रश्न गरे। 

उनले ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताए।

 ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क गरिरहेको प्रचण्डले बताए। 
 

प्रकाशित मिति: : 2021-01-19 16:46:00

प्रतिकृया दिनुहोस्