भारतस्थित कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीमा भीषण आगलागी, ५ काे मृत्यु

भारतस्थित कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनी सिरम इन्स्टिच्युटमा बिहीबार भीषण आगलागी भएकाे छ।  बीसीजी खोप उत्पादन गर्ने प्रयोगशालामा लागेको आगाेमा परी जलेर ५ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पुणेस्थित कम्पनीको टर्मिनल-१ को चौथो र पाँचौं तलामा भएको भीषण आगलागी नियन्त्रण गरेपछि भित्र ५ वटा शव भेटिएका हुन्।

मृतकमा राम शंकर, बिपिन सरोज (उत्तर प्रदेश), सुशील पांडेय (बिहार), महेद्र इंगले र प्रतीक पश्ते ( पुणे) रहेका छन्। मृत्यु भएका मानिस प्लान्टमा काम गर्ने मजदुर हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार ६ कर्मचारीलाई भने सुरक्षित निकालिएको छ। 

पुणेका मेयर मुरलीधर मोहोलका अनुसार अझै प्लान्टमा खोजी जारी छ। आगो के कारणले लाग्यो भन्ने कुरा अहिलेसम्म खुलिनसकेको उनले बताएका छन्।

यसअघि सिरमका कार्यकारी अधिकृत अदार पुनावालाले सामाजिक सञ्जालमार्फत आगलागीमा कसैको पनि मृत्यु नभएको बताएका थिए। तर पछि मृत्युको सूचना पाएपछि उनले गहिरो दुःख व्यक्त गरेका छन्। 

प्रकाशित मिति: : 2021-01-21 19:44:00

प्रतिकृया दिनुहोस्