इजलासमा दैनिक सुवास नेम्वाङको चर्चाः वकिल कटाक्ष गर्छन्, प्रधानन्यायाधीश हाँस्छन्

शिलापत्र

काठमाडाैं

संसद विघटन संविधान सम्मत हो कि होइन भन्ने विषयमा बोल्न आग्रह गर्दा अदालतको दुहाई दिँदै मौनता साँधेर बसिरहेका सुवास नेम्वाङको नाम संवैधानिक इजलासमा दैनिकजसाे सुनिन्छ ।

प्रतिनिधिसभा विघनविरुद्ध संवैधानिक इजलासमा ४ माघदेखि दैनिक सुनुवाइ भइरहेको छ । रिट निवेदनकर्ताले प्रसंगवश नेम्वाङको नाम लिन्छन् । रिट निवेदनकर्ताले कहिले उनकाे अन्तर्वार्ताको प्रसंग कोट्याउँछन् त कहिले सार्वजनिक समारोहमा बोलेका कुराको प्रसंग उप्काउँछन् । 

४ साउन २०७६ मा धुलिखेलमा भएको एक कार्यक्रममा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने तर्क गरेको भिडियो केही दिनअघि बाहिरिएको थियो ।

इजलासमा अवस्था कस्तोसम्म छ भने बहसकर्ताले नेम्वाङको नाम लिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ‘जोक’ सम्म भन्छन् ।

कुरा हो- ५ माघको । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेम्वाङले भिडियोमा बोलेको कुरा उप्काए । नेम्वाङको नाम सुनेपछि प्रधानन्यायाधीश राणाले झट्टपट्ट सोधे- ‘संविधान बन्नु अगाडि कि पछाडि ?’

घिमिरेले जवाफ फर्काए, ‘अगाडि श्रीमान् ।’

‘संविधान निर्माणको बेला बोल्या एउटा कुरा होला,’ बेञ्चबाटै जबराले व्यग्यं कसे, ‘संविधान बनिसकेपछि बोल्ने अर्कै होला,’ यति भन्दै गर्दा राणाले हाँसो थाम्न सकेनन् । बल्लतल्ल हाँसो रोकेर जबराले भने, ‘मैले जोक मात्रै गर्‍या हो है ?’

नेम्वाङको प्रसंगलाई जबराले जोकका रूपमा लिएपछि पहिलो संविधानसभामा सदस्य समेत रहिसकेकी सपना प्रधान मल्लले गम्भीर भएर घिमिरेलाई सोधिन्, ‘संविधानसभाको अध्यक्षले औपचारिक-अनौपचारिक रूपमा बोल्या कुरा संविधानको मर्म हो कि मस्यौदामा लेखिएको कुरा हो ? लेखेको कुराले संविधानको मर्म रिफ्लेक्ट गर्छ कि बोल्या कुराले ?’

प्रकाशित मिति: : 2021-01-22 10:59:00

प्रतिकृया दिनुहोस्