जुम्लाकाे गोठीगाउँमा आगलागी, ३ करोडभन्दा बढीकाे क्षति   

जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका छन् भने तीन कराेड बढीकाे क्षति भएकाे छ।

मंगलबार साँझ गोठीगाउँका बरब रोकायाको घरमा खाना पकाउने क्रममा चुलाबाट एक्कासी आगलागी सुरु हुँदा गाउँका ३२ घर जलेर नष्ट भएको हो। 

गोठीगाउँमा आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

आगलागीबाट मानवीय क्षति भने भएको छैन। घरमा खाना पकाउने हिमाली चुल्होको पाइपबाट आगोको झिल्का निस्किएर घरको छानामा आगो सल्किएको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट तीन करोड रुपैयाँभन्दा धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालयकाे रिपोर्ट छ।

'सूचनाअनुसार तीन करोड क्षतिको विवरण प्राप्त भएको छ,' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी युवनकुमार चौधरीले भने।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाएको थियो।

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले जानकारी दिइन्। 

'गाउँमा पैदल हिँडेर जानुपर्छ, जनशक्ति कम भएकाले समयमै आगो नियन्त्रणमा लिन सकिएन,' उनले भनिन्।

प्रकाशित मिति: : 2021-01-27 15:58:00

प्रतिकृया दिनुहोस्