मृतकका परिवारलाई आर्थिक सहयोग

सांकेतिक तस्बिर

रोजगारीका सिलसिलामा जापानमा निधन भएका गलकोट नगरपालिका–४ खरुवाका पूर्णबहादुर खत्रीको परिवारलाई गलकोट समाज जापानको पहलमा सङ्कलित रु ३२ लाख ६३ हजार ४५९ आर्थिक सहायता प्रदान गरिएको छ।

उक्त सहायता रकमको चेक आज गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र गलकोट समाजका अध्यक्ष हर्कबहादुर पाण्डेले संयुक्तरूपमा दिवङ्गत खत्रीकी श्रीमती मुना खत्रीलाई हस्तान्तरण गरे।

 जापान गएको तीन वर्ष नपुग्दै मस्तिष्क घातका कारण निधन भएका खत्रीको परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले गलकोट समाज जापानले सहयोग अभियान चलाएको थियो। अभियानमा जापानमा रहेका विभिन्न सङ्घसंस्था र गलकोटदेखि जापान पुगेका प्रवासी नेपालीहरु जोडिएका थिए।

नगरप्रमुख गैरेले गलकोट समाज जापानलगायतका प्रवासी नेपालीका संस्थाले दुःख, पीडामा परेका गलकोटवासीको सारथी बनेर मातृभूमिप्रतिको उत्तरदायित्व निभाएको बताए। उनले सामाजिक विकास र मानवीय सेवाका क्षेत्रमा ती संस्थाले पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गरे। गलकोट समाज जापानको अगुवाइमा गलकोट समाज गलकोट, बागलुङ समाज जापान, दाजुभाइ वशिष्ठ गैरे खत्री परिवार जापान, निलुवा समाज जापान, खरुवा समाज जापानलगायतका सङ्घसंस्था र व्यक्तिहरु मिलेर आर्थिक सहयोग जुटाएको गलकोट समाज गलकोटका अध्यक्ष पाण्डेले बताए। 

उनले दिवङ्गत खत्रीका बालबच्चाको पढाइ र सुरक्षित भविष्यका लागि उक्त सहयोगले ठूलो भूमिका खेल्ने बताए। अध्यक्ष पाण्डेले नेपालसहित विभिन्न देशमा रहेका गलकोट समाजहरु सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेको उल्लेख गरे। 

राहत अभियानबाट रु ४० लाख ५० हजार ३१६ सङ्कलन भए पनि दिवङ्गत खत्रीको उपचार र दाहसंस्कारमा खर्च भएको रकम कटाएर बाँकी रहेको रकम परिवारलाई हस्तान्तरण गरिएको हो। दिवङ्गत खत्रीका तीन छोरी र एक छोरा छन्। ३८ वर्षीय खत्रीको गत पुस २४ गते उपचारका क्रममा जापानको अस्पतालमा निधन भएको थियो। रासस 

प्रकाशित मिति: : 2021-01-30 21:34:00

प्रतिकृया दिनुहोस्