सुनचाँदीका नेपाली गरगहना निर्यात बढाए अर्थतन्त्रमा टेवा

सुनचाँदी तथा कला ब्यवसायीहरुले सुनचाँदीका मौलिक गरगहनाको विश्व बजारमा अत्यधिक माग रहेको भन्दै उनीहरुले यस्ता गरगहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सिर्जना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले सुन तथा चाँदीको मौलिक गरगहना निर्यातको प्रचुर संभाव्यता औँल्याउँदै त्यसबाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए। 

कार्यक्रममा नेपाल सनुचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसबाट नेपालले धेरै फाइदा लिनसक्ने बताए। 

अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वलरी काउन्सिलको महत्वबारे प्रकाश पार्दै व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभुषण महासंघ जस्ता एउटै प्रकृतिका संघसंस्थारुले आपसमा सहकार्य गरेर व्यवसाय प्रवद्र्धन गर्नसक्ने धारणा राखे। 

त्यस क्रममा हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले नेपाली हस्तकलाको महत्व र संभाब्यताका बारेमा प्रकाश पारेका थिए। विश्व बजारमा नेपाली हस्तकलामा सामग्रीको माग अत्याधिक रहेको उल्लेद गर्दै उनले  हस्तकलाका सामाग्रिक र मौलिक गरगहनाको निर्यातवाट व्यवसायीलाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै सम्मान पुग्ने बताए। 

कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरुले नेपाली मौलिक गरगहना र तीनको महत्वको बारेमा प्रकाश पारेका थिए। 
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2021-01-31 18:07:00

प्रतिकृया दिनुहोस्