कविता

आकाश वाणी

टेकनारायण रिमाल ‘कौशिक’

याँगौँ, म्यान्मार (बर्मा)
Breaknlinks
Breaknlinks

जालो फुट्ने गरी बाजा बजे मस्तिष्क हल्लिए
लादेको तन्त्रले चेत बाँधिई कर्म डल्लिए
प्रतिगामी बनी खुट्टा उद्यानतिर लाग्दछन्
अत्याचार बढेदेखि पाषाणसम्म जाग्दछन्।

अग्रगामी भनी शङ्ख फुकी मारी हजारन
अपाहिज र बेपत्ता रैती पारेर लाखन
बलपूर्वक ल्याएर, लादेको गणतन्त्रले
के दियो जनतालाई सङ्घीयता कु-यन्त्रले?।

‘असाद्धे दुःखले मेरो आर्ज्याको देश’ यो किन?
चुँडिएजसरी रोटी लाग्या’छ आज टुक्रिन?
टुक्रा-टुक्रा परी हेर! गर्नुपर्ला नि चाकडी!
स्वतन्त्र राष्ट्रका लागि त्योभन्दा दुःख के बढी?।

बाँसका झाङ रोप्नेले रोप्यो साझा गरी तर
केही कागहरू आई बसी निजा गरी घर
बिस्ट्याईकन फोहोर पारी झाङ सरी सरी
मनमोज गऱ्या’छन् रे स्वार्थ को ढुकुटी भरी।

सानो मुलुकमा तन्त्र चाहिँदैन कुनै पनि
बोकामा भैँसिको श्रृङ्गतुल्य सङ्घीयता भनी
विकल्प राजसंस्था हो संवैधानिक केवल
बल्ल नेपालको होला मुहार पूर्ण-उज्ज्वल।

एमसीसी गरी पास बेचिँदैछ स्वदेश रे!
विदेशी शक्तिको केन्द्र बनाइँदैछ देश रे!
परिवेश अँधेरो-छ-कता मुलुकको गति?
यसरी देशवासीको किनिँदैछ कि दुर्गति!।

नेपाली जनताबाट राजसत्ता ढलेन रे
यो ढाल्ने तत्व अर्कै रे त्यसै राष्ट्र जलेन रे
प्रजाहितार्थ,राजाले नगरी शक्ति-चालन
चुपचाप चले राम! दरबार त्यजीकन।

बलप्रयोगले सत्ता सक्थे जोगाउनाकन
किन्तु वात्सल्यले गर्दा प्रजामाथि थियो मन
मर्नन् रैती भनी सोची नदी प्रतिक्रिया कुनै
नारायणहिटी छाडे दण्ड श्रीपेच सुम्पिँदै।

गादी श्रीपेच दण्डादि राज-चिन्हहरू सब
जनताको थियो नासो जिम्मा शासकका अब
पूरा जतनले राखोस्, दिनुपर्नेछ उत्तर
अखण्ड-राज्य-रक्षार्थ होओस् प्राणै निछावर।

नजुटीकन ता रैती देश बन्दैन हो तर
दलमा बाँडिएको छ परन्तु राष्ट्रको स्तर
जनता,जनता बन्दै तटस्थ, स्वच्छभावले
सही व्यक्ति चुनेमात्र गति पाउँछ देशले। १०

प्रकाशित मिति: : 2021-08-07 08:29:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ