न फाेन लाग्छ, न नेट चल्छ

चुनावमा खटिएका कर्मचारी उपल्लो डाेल्पामै अलपत्र, रुँदै माग्छन् उद्दारकाे गुहार

हिमाली जिल्ला डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पामा चुनाव गराउन खटिएका कर्मचारीहरु मतदान केन्द्रमै अलपत्र परेका छन्।

उपल्लो डाेल्पाका २२ मध्ये १२ मतदान केन्द्रमा खटिएका करिब एक सय जना कर्मचारीहरु मतदान केन्द्रमै अलपत्र परेका हुन्।

पटकपटक उपल्लो पुगेकाे सेनाकाे हेलिकप्टरले मतदान अधिकृत सहित मतपेटिका मात्र ल्याएपछि सहायक मतदान अधिकृत सहित अन्य कर्मचारी, म्यादी, नेपाल प्रहरी माथि नै अलपत्र परेका हुन्।

उपल्लो डाेल्पाका शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मध्ये १२ मतदान केन्द्रका एक सय कर्मचारी अलपत्र परेको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मावाङ्छेन गुरुङले बताए।

अलपत्र कर्मचारी चिसाेले कतिपय बिरामी परेर स्वास्थ्य अवस्था बिग्रँदै गएको सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहराले बताए।

चुनाव सकिएकाे चार दिन बितिसक्दा पनि लैजानकाे लागि हेलिकप्टर नआउँदा डाेल्पाे बुद्ध गाउँपालिकाकाे तीन्जेमा बीस जना भन्दा धेरै कर्मचारी अलपत्र परेकाे कर्मचारी तिलु बुढाले बताइन्।

'हिँडेर जाउँ सदरमुकाम पुग्न हप्ता दिन लाग्छ,पाँच हजार मिटर भन्दा अग्ला हिँउले भरिएका हिमाल उक्लेर जानुपर्छ, यतै बसाैँ भने खर्चपर्च सबै सकिएको छ, पैसा भएपनि खान पाइँदैन' रुँदै बुढाले भनिन्, 'आफूसँग भएका कतिपय साथीहरू बिरामी छन्, खाने औषधी छैन, स्वास्थ्य अवस्था नाजुक छ, छिटोभन्दा छिटो उद्दार र गरिदिन अनुराेध छ।'

सिडियाे साबले हेलिकप्टर पठाउने भनेपनि अझै नआएको उनले बताइन्।

'निर्वाचन कार्यालयले हेलिकप्टरमा लिएर मतदान केन्द्रमा छाेड्याे तर ल्याउन आएन, अलपत्र परेका छौँ, न फाेन लाग्छ, न नेट चल्छ' अर्की कर्मचारी सुजाता बुढाले बताइन्।

हिँडेर सदरमुकाम पुग्न हिउँ पहिराेले पुरिने डर भएकाे उनकाे भनाई छ।

यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले निर्वाचन उपल्लो डोल्पामै रहेका कर्मचारीलाई हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउनका लागि निर्वाचन आयोगसँग अनुरोध गरेर चिठी पठाएको जानकारी दिए।

प्रकाशित मिति: : 2022-11-23 22:20:00

प्रतिकृया दिनुहोस्