कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण

बिएल संवाददाता

रुकुमपूर्व 
गोरखापत्र अनलाइन

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ।

 गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो। स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन्। कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिका–६ मा मात्रै छ हजार स्याउका बिरुवा वितरण गरेको छ। त्यहाँ एक स्थानीय तह एक उत्पादन कार्यक्रमसमेत लागू भएको छ। बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले जानकारी दिए। उनीहरुलाई रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको कृषि प्राविधिक ओलीले बताए। 

यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ। गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा उपलब्ध गराएपछि खुशी भएका कृषक भने स्याउका बिरुवा सुकेर जाने हुन कि भन्ने पिरमा छन्। आकासेपानीको भरमा गरिने यहाँको खेती प्रणालीमा लामो समयदेखि पानी नपरेपछि कृषक समस्यामा परेका छन्। स्याउको बिरुवा रोप्नका लागि खाल्डो खनिसकेका कृषक पानी नपरेपछि बिरुवा रोप्ने की नरोप्ने भन्ने दोधारमा परेको गाउँपालिका–१ का कृषक लक्ष्मीप्रसाद पुनले बताए। यसपालि त घरबाटै पानी बोकेर खाल्डोसम्म पु¥याउन सकेमात्र बिरुवा लगाउन सकिने छ, नत्र भने बिरुवा मरेरै जाने उनले बताए।

सिँचाइ अभावमा आकाशबाट पानी नपर्दा यहाँका नागरिकले यस्तो समस्या बारबार झेल्दै आएको वडा नं ६ काजरजङ्गका अर्का कृषक लक्ष्मी बुढाले बताए। आकाशबाट पानी नपर्दा यस वर्ष जिल्लाभरिकै कृषक समस्यामा परेका छन्। जिल्लाको माथिल्लो भेगमा गरिने स्याउखेतीसँगै जिल्लाभर नै लगाइएको गहुँबालीलाई ठूलो असर परेको छ। पानी नपरेपछि गहुँ बारीमै सुक्दै गएको सिस्ने गाउँपालिका–३ की मीना केसीले बताए। सिँचाइको अभावमा सधैँ समस्या झेल्दै आएका कृषक पानी नपरेपछि थप समस्यामा परेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-02-05 16:09:00

प्रतिकृया दिनुहोस्