निवेदक पक्षको बहसले प्रभावित भए प्रमका कानुन व्यवसायी, ‘बाजे वकिल’देखि न्यायाधीशसम्म प्रशंसा, उठ्यो भर्जिनिटी टेस्टको प्रसंग

कमलराज भट्ट

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा बुधबार प्रधानमन्त्रीका १५ निजी कानुन व्यवसायीले बहस गरेका छन्। १० जनाभन्दा बढीले नाम टिपाउँदै बहस नोट बुझाएका छन्। निजी वकिलको बहस भोलि सकिँदैछ। मंगलबारको तुलनामा प्रधानमन्त्रीका वरिष्ठ अधिवक्ताको बहस सुन्न लायक थियो। वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, माधव बास्कोटा, रमेशप्रसाद गुरागाईं र अधिवक्ता माधव बस्नेतका तर्क न्यायाधीशले ध्यानपूर्वक सुने। १५ मिनेट पाएर ४० मिनेट बोलेका भण्डारीसँग न्यायाधीशहरुको लामै सवालजवाफ भयो। इजलासमा सबैभन्दा चासोपूर्वक हेरिएका भण्डारीले ७ वटा निष्कर्ष इजलासलाई सुनाए। इजलासलाई जर्मनीको व्यवस्थासँग घुमाएका अधिवक्ता बस्नेतले ३५ मिनेटभन्दा बढी समय लिए। वरिष्ठहरुलाई समयमा पावन्दी भएन बरु बेञ्चले नरोकी बोल्न दियो। तर अधिवक्ताहरुलाई भने १५ मिनेटदेखि ३ मिनेटसम्म तोकियो। अन्तिममा त केहीले १ मिनेटमात्रै बोले। नबोली नाम टिपाएर हिँडे। भोलि १ घण्टाभित्र सक्ने लक्ष्य निजी वकिलको छ। १२औं नम्बरमा बहस गर्न आएका अधिवक्ता कृष्णकुमार हुमागाईँ बोल्नै लाग्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कति जना बाँकी हुनुहुन्छ भनेर सोधेको प्रश्नमा निजी वकिलका तर्फबाट अधिवक्ता रमेश बडालले हामी केही साथीहरु बाँकी छौं, भोलि १ घण्टाभित्र बहस सक्ने जवाफ दिए।

बाजे वकिलको प्रशंसा

बुधबार सबैभन्दा बढी बोलेका वरिष्ठ अधिवक्ता भण्डारीले नेपालका जेष्ठ (बाजे वकिल) अधिवक्ता कृष्णप्रसाद भण्डारीदेखि न्यायाधीशहरु र निवेदकसम्मको प्रशंसा गरे। भण्डारीले आफू निवेदकका तर्कबाट प्रभावित भएको समेत बताए। तर संसद् पुनर्स्थापनाले समस्याको समाधान नदिने भन्दै रिट जारी हुने अवस्था भने नभएको जिकिर गरे।

‘रिट निवेदकले ल्याएको निवेदन महत्वपूर्ण होला तर रिट जारी हुने अवस्था छैन। यद्यपि सुरुमा यसको अधिकार क्षेत्रबारे बहस हुँदा प्रधानन्यायाधीशज्यूले श्रेय स्वीकार जसरी धन्यवाद दिनुभयो। म त्यसको प्रशंसा गर्न चाहन्छु। कृष्णप्रसाद भण्डारीजी नियमित रुपमा हुनुहुन्छ। उहाँले गरिमा बढाउनुभएको छ। उहाँको व्यक्तित्वले गरिमा बढाएको छ। धन्यवाद दिन चाहन्छु,’ उनले भने।

‘वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनमणि पोखरेल लगायतका साथीहरुले राम्रो बहस गर्नुभयो। म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,’ भण्डारीले प्रशंसा गरे, ‘युवा रिट निवेदक समृत खरेल र अधिवक्ता मेघराज पोखरेलको जुन बहस भयो त्यसबाट म प्रभावित नै भएको छु। श्रीमानहरुका धेरै प्रश्नबाट सिक्ने मौका पाएको छु। धन्यवाद दिन्छु।’

प्रकाशित मिति: : 2021-02-11 06:40:00

प्रतिकृया दिनुहोस्