फेरिएका जीवनहरु (श्रृङ्खला- ११)

‘नसा’ले बर्वाद जीवनहरू ब्यूँझाउँदैछन् राजु (भिडियोसहित)

एक सर्काे चुराेट अनि रक्सीको एक प्यालाबाटै सुरु हुन्छ कुलतकाे दुनियाँ। ‘नसा’मा रन्थनिएकाे शरीर अनि अलाैकिक संसारमा उडिरहेकाे मन। जिन्दगी त्यसै त्यसै ‘रंगीन’ लाग्छ। राजुलाई पनि याे रंगीन दुनियाँले धेरै अलमल्यायाे। जब हाेसमा आए त्याे बेला उनकाे ज्यानमात्रै हाेइन, जवानी र सारा जिन्दगी नै बर्वादीकाे खालतिर गइरहेकाे थियाे। र, पनि आफूलाई सुधारेका राजु अब त्यस्ता कैयाै युवाकाे बर्वादी राेक्ने अभियानमा आफूलाई समर्पित गरेका छन्। 


बालाजुका ३५ वर्षीय राजु गुरुङले कुलतबाट मुक्त भएर नयाँ जीवनमा फर्किन्छु भनेर कहिल्यै सोचेका थिएनन्। तर कहिल्यै नसोचेको कुरा नै उनको जीवनमा भइदियो।

कुनैबेला साथीभाइको संगतमा लागुऔषध प्रयोगकर्ता बनेका उनी अहिले कुलतको बाटो हिँडिरहेका युवालाई सुधारिरहेका छन्।

१० वर्षदेखि उनी ‘कन्ट्रोल एडिक्शन नेपाल’ मा सुधार्न राखिएका युवाहरूलाई लागुऔषध सेवन गर्दा र नगर्दाको अवस्थाबारे आफूले भोगेका तीतामिठा अनुभवहरूलाई सुनाइरहेका छन्।

एकदशक भन्दा बढी लागुऔषधको प्रयोग गरेका राजु अहिले लागुऔषधमुक्त समाज निर्माणको अभियानमा लागिरहेका छन्। आफूलेजस्तो गलत बाटो नहिँड्न उनी जनचेतनामुलक सन्देश फैलाइरहेका छन्। 

000

जनजाती समुदायमा हुर्किएका राजुले कहिलेकाहीं जाडँ–रक्सी पिउने गर्थे। त्यही पनि परिवारकै सहमतिमा। ‘मंगोलियनको घरमा जाडँ–रक्सी सगुनजस्तै हो’, उनी सुनाउँछन्, ‘हाम्रो लागि रक्सी पिउनु सामान्य जस्तै थियो।’

बेलामौकामा मादक पदार्थ पिउने उनलाई त्यसले खासै असर गरेको थिएन। तर साथीभाइको संगतले ‘सिगरेट’ तान्न थालेपछि राजुको जीवन अर्कै मोडतिर मोडिन थाल्याे। 

कक्षा–८ पढ्दै गर्दा उनले ‘हिरो’ बन्नका लागि चुरोट पिउन थाले। तर त्योबेला राजुलाई थाहा थिएन, चुरोटले मानिसलाई हिरो होइन ‘जिरो’ बनाउँछ।

चुराटेको धुँवा उडाउन थालेको केही समयपछि उनले गाँजा खान थाले। १५ वर्षको उमेरमा गाँजाको ‘पप’ तान्न सिपालु भइसकेका थिए।

पहिलोपटक गाँजाको सेवन गर्दा उनलाई रमाइलो लाग्यो। गाँजाले राम्रो ‘ट्रिप’ दियो। सुरुवाती दिनहरूमा गाँजामा रमाएका राजुलाई अब त्योभन्दा पनि धेरै नशा चाहिएको थियो।

गाँजा खान थालेको ६ महिनापछि उनले ‘फर्मास्यूटिकल’ औषधिको प्रयोग गर्न थाले। पहिलोपटक राजुले साथीको बहकाउमा ‘नाइट्रोजेपाम’ निलेका थिए।

‘ट्याब्लेट’ले उनलाई छुट्टै आनन्द दियो। उनले बुफ्रेनोफिन र डाइजोपामको पनि सेवन गर्न थाले। ‘एलएलसी’ दिनेबेला त उनी धेरै ‘एडिक्ट’ भइसकेका थिए। आफ्नो शरीरलाई उठाउनका लागि पनि उनलाई नशा चाहिने भइसकेको थियो। 

नशा नगरेको दिन उनको शरीर नै कजोर हुन्थ्याे। त्यही शरीरलाई बलियाे बनाउनका लागि उनले ‘इन्जेक्शन’ पनि हाल्न थाले। १८ वर्षको उमेरमा उनले शरीरका विभिन्न अंगहरूमा सुइँले खाेपिसकेका थिए।

उत्सुकताको कारण कुलतको बाटो रोजेका राजु आफ्नो संसारमा रमाइरहेका थिए। त्यही खुसीमा उनले परिवारकाे दुख कहिल्यै देखेनन्। 

राजुका बुबा आर्मी थिए। त्यसैले घरका जेठो छोरालाई ‘आर्मी’ बन्नका लागि सुझाइरहन्थे तर बुबाको सपना पूरा गर्न सकेनन् राजुले। उनले न आफ्नो सपना पूरा गर्न सके नत बुबाको नै। 

खेलाडी या सांगतिक क्षेत्रमा उदाउने राजुको सानो बेलाको सपना थियो। तर त्यो सपनालाई पनि उनले ज्यूँदै मारिदिए। ‘मेरो सपनाहरूलाई कुलतले बिर्साइदियो’, उनले सुनाए।

दुर्व्यसनी बनेका राजु विस्तारै परिवारसँग टाढिदैं गए। बुबासँग उनको बोलीचाली बन्द भयाे। आमासँग धेरैथाेर भएपनि बातचित हुन्थ्याे। आफूलाई चाहिएका सबथोक उनी आमासित माग्थे।

तर आफूले मागेको कुरा नदिँदा उनी आमासँगै निहुँ खोज्थे। ‘मैले एकपटक भनेपछि त्यो सामान जसरी भएपनि मलाई चाहिन्थ्यो’, राजु भन्छन्, ‘मैले मागेको चिज नपाउँदा म आमासँग झगडा गथें।’

उनको कारण बाआमाको सम्बन्ध पनि चिसिँदै गयाे। दिनरात घरमा कलह मच्चिन थाल्याे। ‘म बिग्रिएको कारण बुबाले आमालाई गाली गर्नुहुन्थ्यो’, राजु सम्झिन्छन्, ‘मेरै कारण दिनरात झगडा हुन्थ्यो।’ 

भाइहरूसँग पनि उनको सम्बन्ध बिग्रिदै गयो। परिवारका लागि उनी आँखाका कंसिगर बने। घरकाले सम्झाउँदा राजु मनमनै सोच्ने गर्थे, ‘मलाई कसैले बुझ्दैनन्।’

परिवारसँग रिसाएका राजुको जीन्दगीमा झनै नकारात्मक असर पर्न थाल्यो। झनै, उनी कुलतको दलदलमा भाँसिदै गए। राजुकाे बिग्रदै गएकाे अवस्था देखेर आमाले कयौं पटक उनलाई सुध्रार्न खाेजिन्। सुधार केन्द्रमा समेत राखिदिइन् तर सुध्रिन सकेनन् राजु। 

दुई–चार महिना सुधार केन्द्रमा बस्थे अनि फेरि उनी साथीहरूसँग भेटेर लागुऔषधको सेवन गर्थे। ‘त्याे दुनियाँ रंगिन लाग्थ्याे। नशामा हुँदा आनन्द हुन्थ्यो’, आमाले सम्झाउँदा पनि दुर्व्यसनबाट नबाहिरिनुको कारण उनले खुलाए।

क्षणभरका लागि नशा दिने लागुऔषधको सेवन गरेर खुसी थिए राजु। न कुनै कुराको दुख थियो नत डाेज खाने पैसाकाे कमी नै। आमालाई घुर्काएर पैसा पाइरहेका थिए। त्यही पैसाले उनलाई दिनभरि झुलाइरहन्थ्यो। न कसैकाे चिन्ता न कसैकाे डर। खुलेर जिउँदै थिए राजु। 

तर एकदिन उनको बुबा नमज्जासँग थला परे।

छोराकै कारण प्रेसरका बिरामी भएका बुबालाई ‘मस्तिष्क रक्तश्राव’ भयो। बिरामी बुबाकाे कारण उनकाे मनमा डर पलाउन थाल्याे। कतै बुबालाई गुमाउने पाे हाेकि!

‘मेरो कारण आमा मुटुको रोगी हुनुभयाे। बुबा प्रेसरको बिरामी हुनुहुन्थ्यो, त्योबेला प्रेसरको समस्या मलाई सामान्य लागेको थियो तर त्यसैको कारण बुबालाई ब्रेन ह्यामरेज भयो’, बिएल नेपाली सेवालाई उनले भने, ‘बुबाकाे त्याे राेगबारे थाहा पाउँदा मलाई आकाशबाट खसेजस्तो भयो।’

आफ्नो कारण बाआमालाई थला पारेका राजुले आफ्नो जिन्दगीलाई केलाउन थाले। लागुऔषध सेवन गर्दा र नगर्दाको दिनहरूलाई सम्झिए। त्यसपछि आफूले गुमाएको एक दशक सम्झिएर रून थाले। ‘त्यो दिन मैले आफ्नो गल्तीलाई बुझेको थिएँ’, लामो श्वास फेरेर उनले सुनाए।

उनलाई धेरै समय लागेको थियो, कुलतको दुनियाँ त्याग्ने निर्णय गर्नका लागि। तर बाआमालाई दिएकाे दुख सम्झिएर उनले प्रण लिइसकेका थिए,अब त सुध्रिएरै छाड्नेछु।’ साेहीकारण राजुले फेरि एकपटक ‘रिहाब सेन्टर’को ढोका ढकढकाए। त्यसपछि केही महिना उनी सुधार गृहकै संरक्षणमा बसे। 

आजभन्दा एक दशकअघि लागुऔषधबाट मुक्त हुनका लागि धेरै संघर्ष गरेका थिए राजुले। ‘भोक लागेन, निन्द्रा परेन, शरीर कमजोर भएको थियो तर मनमा सुध्रिन्छुु भन्ने दृटता थियो’, त्यही जुनुनले उनलाई सुधारेरै छाड्यो।

कुलतको दुनियाँबाट ‘रिकबर’ भएका राजु अब बुबाआमालाई खुसी देख्न चाहन्थे। त्यसैले आफूले सिकेको र जानेको काम गर्न उनी ‘कन्ट्रोल एडिक्शन नेपाल’मा जोडिए। 

‘मैले मेरो आफ्नाे जीवन अनि समय कुलतमा लागेर वर्वाद गरें। मैले जानेको र सिकेको काम पनि त्यही नै थियो, त्यसैले म सुधार केन्द्रमा काम गर्न थालें’, उनी सुनाउँछन्, ‘म जस्तै धेरै कुलतमा फसेका युवालाई सुधार्नु नै मेरो लक्ष्य बन्यो।’

लागुऔषधको सेवन नगरेको उनले करिब एक दशक भइसकेको छ। तर अहिले पनि उनलाई आत्मग्लानी हुन्छ। कहिलेकाहिँ घर पुग्ने राजुलाई बाआमा देखेर नरमाइलो लाग्छ अनि विगतको कुराले पिरोल्न थाल्छ।

‘हुन त म सुध्रिसकेको छु तर आमाबुबालाई दिएको दु:ख सम्झिदा नमज्जा लाग्छ तर मलाई अझै पनि उहाँहरूले प्रेम गर्नुहुन्छ। त्यो देखेर आफूलाई भाग्यमानी ठान्छु’, बुबाआमाको साथ अहिले उनको जिउने आधार बनेको छ।

युवालाई सुधार्ने बाटोमा राजु

सुधार गृहबाट सयौं जना युवालाई सुधारिसकेका छन् राजुले। उनले सुधारेकाहरू अहिले आ-आफ्नो कामै रमाइरहेका छन्।

त्यो कुराले पनि उनमा आत्मविश्वास बढाइरहेकाे छ, कुलतमा फसेका युवालाई नयाँ जीवन दिलाउने। 

उनीसँगै कुलतको दुनियाँमा पाइला टेकेका कयौं साथीहरूको ‘नशा’को कारण मुत्यु भइसकेको छ। तर धन्न राजु समयमै सुध्रिए। 

‘मैले जीन्दगीमा ठुलो उपलब्धि हासिल गर्न सकिनँ तर कुलतमा लागेका युवलाई सुधारिरहेको छु। त्यही कुराले मलाई खुसी दिइरहेको छ’, उनले सुनाए। 

एक दशकसम्म सुधार गृहमा काम गरेका राजुलाई अहिले ड्रग्सभन्दा घातक मद्यपान लाग्छ। ६० प्रतिशत कुलतमा फसेकाहरूलाई रक्सीले निलिरहेको उनकाे दाबी छ। 

‘मानिसहरूले ड्रग्सलाई मात्र खतरनाक सोच्छन् तर रक्सी पनि उत्तिकै घातक छ’, उनी भन्छन्, ‘ ड्रग्सले भन्दा धेरै रक्सीकाे कारण मानिसहरूकाे अकालमै मृत्यु भइरहेकाे छ।’

गृह मन्त्रालय र तथ्याङ्क विभागले २०७६ सालमा गरिएको एक सर्वेक्षणअनुसार लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको छ।

नशालाई जीन्दगी साेचिरहेका तिनै युवालाई सुधार्न राजु लागुऔषधविरुद्ध आवाज उठाइरहेका छन्।

प्रकाशित मिति: : 2024-05-17 20:25:00

प्रतिकृया दिनुहोस्