पर्यटकीय स्थलको विकासमा साझेदारी  

फाइल तस्बिर

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचथरका पाँच वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारीका लागि रु १३ करोड ५१ लाख बजेट विनियोजन गरेको छ।

मन्त्रालयले जारी गरेको ‘पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारीसम्बन्धी सूचना’अनुसार यहाँका पाँच पर्यटकीयस्थलमा स्थानीय तहसँगको साझेदारीमा पूर्वाधार निर्माण हुन लागेका हुन्।

पाँच स्थलमा पूर्वाधार विकासका लागि कूल लागत रु १९ करोड ६८ लाख रहेको छ। जसमध्ये रु १३ करोड ५१ लाख रकम मन्त्रालयबाट छुट्याएको हो। 

लागत साझेदारीअनुसार बाँकी रकम सम्बन्धित स्थानीय तहले विनियोजन गर्नुपर्ने छ। चालू आर्थिक वर्षमा शुरु हुने पूर्वाधार विकासका योजना आगामी तीन वर्षमा सम्पन्न हुने मन्त्रालयले जनाएको छ। 

जारी सूचनाअनुसार जिल्लाको याङवरक गाउँपालिकास्थित निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण आयोजनाका लागि मन्त्रालयले रु तीन करोड ५० लाख बजेट छुट्याएको छ। 

तीन वर्षमा निर्माण सम्पन्न गर्ने तय भएको यस आयोजनाको कूल लागत रु पाँच करोड छ। रु एक करोड ५० लाख लागत गाउँपालिकाले व्यहोर्नु पर्नेछ। 

यस्तै कुम्मायक गाउँपालिकास्थित कुम्मायक–कुस्सायक क्षेत्रको पर्यटन विकासका लागि मन्त्रालयले रु दुई करोड ३७ लाख बजेट छुट्याएको छ।

रु तीन करोड ४० लाख कूल लागतको आयोजना दुई तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाले रु एक करोड तीन लाख लागत व्यहोर्नु पर्नेछ। 

यस्तै हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रमा प्यागोडा शैलीको दरबार निर्माणका लागि मन्त्रालयबाट रु तीन करोड ५० लाख बजेट विनियोजन हुने भएको छ भने रु एक करोड ५० लाख रकम गाउँपालिकाले छुट्याउनु पर्नेछ। 

रु पाँच करोड कूल लागतको आयोजना आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।  

फिदिम नगरपालिकामा फाल्गुनन्द सर्किटअन्तर्गत शिवालय–देउराली सिँढीमार्ग तथा सर्पेडाँडा महादेवपोखरी लब्रेकुटी–सिलौटी साइकल ट्र्याक निर्माणमा समेत लागत साझेदारी हुने भएको छ। 

कूल रु चार करोड ८७ लाखको यस आयोजनाका लागि मन्त्रालयको रु तीन करोड १७ लाख तथा नगरपालिकाको एक करोड ७० लाख बजेट छुट्याउने भएका छन्। 

यो आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।  जिल्लाको फालेलुङ गाउँपालिकास्थित सीमावर्ती क्षेत्र तीन सिमानामा पर्यटक आवास गृह निर्माण तथा गोर्खेपानीदेखि तीन सिमानासम्म पदमार्ग निर्माणका लागि साझेदारी भएको छ। 

कूल रु एक करोड ४१ लाखको यस आयोजनामा मन्त्रालयको रु ९७ लाख तथा गाउँपालिकाको ४३ लाख लागत रहनेछ। यो आयोजनासमेत दुई वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ। 

देशभरीका २०० वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकासका लागि मन्त्रालयले स्थानीय तहसँग साझेदारी गरेको हो। 

पाँचथरमा लागत साझेदारीमा पूर्वाधार निर्माण हुने भएका स्थान पर्यटकको उल्लेख्य उपस्थिति हुने स्थलमा पर्दछन्। सङ्घीय सरकारसँगको साझेदारीले पर्यटकीय पूर्वाधार निर्माणमा सहजता मिल्ने जनप्रतिनिधिको विश्वास छ। रासस

प्रकाशित मिति: : 2021-02-15 12:49:00

प्रतिकृया दिनुहोस्