आम निर्वाचन

समानुपातिक सांसद बन्ने लाइनमा विराटनगरका उद्योगी

आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनको सरगर्मी देशभर बढेको छ। नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा जाने र चुनावमा उम्मेदवार बन्नका लागि लबिङ गर्ने अभियानमा छन्।

तर निर्वाचन क्षेत्र नभएका, सांसद हुन मन गर्ने विराटनगरका उद्यागी व्यवसायी भने पर्ख र हेरमा छन्। विगतमा समेत विराटनगरबाट विभिन्न राजनीतिक दलबाट समानुपातिक सांसद बनेका उद्यागी व्यवसायी यसपटक माहोल बुझ्दै छन्।

नीति निर्माणका तहमा उद्योगी व्यवसायी पुग्नुपर्ने उनीहरुको धारणा छ। तर को कति खेर कहाँबाट सांसद बन्छन्, त्यो भने टुंगो छन्। विराटनगरबाट मोती दुगढ र राज्यलक्ष्मी गोल्छा एमालेबाट समानुपातिक सांसद बनिसकेका छन्। तत्कालीन विजयकुमार गच्छदारको पार्टीबाट उद्योगी पवन सारडा पनि सांसद बने।

विराटनगरका उद्योगी दिवाकर गोल्छा पनि एकपटक संसद भए। समाजसेवी एवं प्रतिष्ठित उद्योगी दिनबन्धु गोयलदेखि राजकुमार गोल्छासम्मको नाम यसअघिका चुनावमा चर्चा हुने गरेका थिए। उद्योगी भीम घिमिरेको पनि सांसद हुनेको लाइनमा चर्चा हुने गर्छ।

सहज ढंगले सांसद पाउँदा व्यापार संघका केही पूर्व अध्यक्षहरु पनि लोभिएका छन्। उद्योग संगठनका अध्यक्ष सुयष प्याकुरेललाई त गएको स्थानीय चुनावमा नै एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयरमा प्रस्ताव गरेको चर्चा थियो।

विराटनगरका उद्योगी एंव मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु कांग्रेसबाट सांसद बन्ने प्रयत्न गरे पनि हुन सकेनन्। यसपटक उनी पर्ख र हेरको रणनीतिमा देखिन्छन्। उनले भने, ‘हेरौँ बल्ल चुनाव घोषणा भएको छ। के हुन्छ?’, यसपटकको चुनावमा सांसद बन्ने विराटनगरका बलियो उद्योगपति उनी नै देखिन्छन्।

नेकपा एमालेको राजनीतिमा लागेका उद्योगी अरुण राठीले पनि मौका मिले समानुपातिकबाट प्रदेश या संघमै सांसद हुने भित्री चाहना राखेका छन्। उनले भने, ‘म केही वर्षदेखि एमालेमा आएको हुँ र सक्रिय रुपमा लागिरहेको छु। मैले यस विषयमा केही भन्न मिलेन।’

त्यसो त मोती दुगढ पनि सांसद दोहोर्याउने दाउमा रहेको स्राेतले बतायो।

नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेन्द्र राउत उद्योगी व्यवसायीहरु नीति निर्माण तहमा पुग्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘व्यवसायीहरु पनि त्यहाँ पुग्नुपर्छ।’

उनले आफू स्वतन्त्र रहेको र कुनै पार्टीमा नरहेकाले आफ्नो ध्यान त्यतातिर नगएको बताए। ‘तर व्यवसायीलाई माथि पुर्याउन हर तहले सहयोग गर्छु’, उनले भने।

प्रकाशित मिति: : 2022-08-17 12:26:00

प्रतिकृया दिनुहोस्