प्रहरीको कुटाइबाट बालकको मृत्युपछि जुम्लामा तनाव (भिडियाे)

जुम्लामा प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगामा तनाव ग्रस्त भएको छ ।

गुठीचौर गाउँपालिका-३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। मृतक बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए।

मृतकलाई मोवाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको डिएसपी प्रहरी माधव काफ्लेले बताए।

‘जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो, उनले भने, ‘मृतकका आफन्तले भने प्रहरीका कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गर्न आएपछिस्थिति तनावग्रस्त भएको हो। भिडलाई साम्य पार्न लाठीचार्ज र अस्रु ग्यास प्रहार गरिएको हो ।’

१४ वर्षीय पदम बुढा उपचारको लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए। उनको खुटामा चोट लागेर सुनिएको अवस्थामा उनी उपचारका लागि अभिभावकसँग अस्पता पुगेका थिए।

ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आइसियुमा राखेर उपचार थालिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले बताए।

‘अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए। उनको स्वास प्रश्वासमा समेत समस्या देखिएपछि आइसियुमा राखेर उपचार थालिएको थियो’, उनले भने, ‘जमेको रगतको टुक्राहरु फोक्सामा पुगको कारण बिरामीलाई बचाउन सकिएन। अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास गरेको हो ।’

मोवाइल चोरी गरेको आरोपमा प्रहरीले जिप्रकामा ल्याएर निर्मम तरिकाले कुटपिट गरेको कारण बुढाको मृत्यु भएको आफन्तले बताइरहेका छन्।

गुठीचौर गाउँपालिका-३ गज्याङ्गकोटका स्थानीयले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो।

झडममा आधा दर्जन बढी मृत्यकका आफन्त घाइते भएका छन्। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

 

प्रकाशित मिति: : 2021-02-18 15:23:00

प्रतिकृया दिनुहोस्